रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया हटाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे ।

गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए ।

उनले सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए ।

गृहमन्त्री लामिछानेले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे ।

उनले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्ने कुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताए ।

उनले भने–‘दुर्घटना न्यूनीकरण राज्यको दायित्व हो । गृह मन्त्रालयको दायित्व हो । नागरिकको ज्यान बचाउने सबै भन्दा ठूलो दायित्व हो । सुरक्षित ढङ्गले सवारी सञ्चालन हाम्रो लागि प्राथमिकता हुनुहुपर्छ । जस्तो सरकारको ड्राइभिङ लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मान्छेले सही ढङ्गले सवारी चलाएको छ वा छैन भनेर हेर्ने निकाय अर्को छ । म त भन्छु रोड टेस्ट नगरी कन ड्राइभिङ दिने परिपाटी छ । त्यो परिपार्टी ठिक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ । कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढङ्गले लाइसेन्स दिइएको छ । यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ । तर सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु । बाबुआमाले माया गरेर परीक्षामा यति प्रतिशत अङ्क ल्यायौ भने बाइक किन्दिन्छु भन्नु एउटा कुरा हो । तर त्यो बाइक गाडी चलाउने हैसियत बनाउनु अर्को कुरा हो । तर लाइसेन्स चाहिँ त्यसरी पाउनुहुँदैन ।त्यसको लागि नीतिगत रुपमा धेरै कुराको आवश्यक पर्छ । रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटीले आज के भएको छ । स्किल नभएकाले सवारी साधन चलाउँदा धेरै सडक दुर्घटना बढेको छ । सुधारको लागि हामीले जरोमा जानुपर्छ । लाइसेन्स दिने प्रक्रियालाई सुधार गरेर जानुपर्छ । त्यसमा निर्मम भएर कडाईका साथ पालना गराउनुपर्ने हुन्छ । सडकमा स्पिड र इगो देखाउनु राम्रो होइन ।’

उनले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको भन्दै नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व भएको बताए ।

उनले सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *