यती एयरलाइन्सको नयाँ वर्ष योजना : २ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उडान

काठमाडौँ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यती एयरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ । सामाजिक सञ्जालहरूमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरूलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो ।

हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एयरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एयरलाइन्सले जानकारी दिएको छ । हाल एयरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरूको उडानमा सेवा शुल्क लिँदै आएका छन् ।

यात्रुहरूलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरूको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरूका लागि वैशाख १, २०८१ देखि सीमित समयको लागि लागू गरिएको छ ।

यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरूले यती एयरलाइन्सको चेक—इन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ । यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरूका लागि विशेष काउण्टरमार्फत सेवा दिँदै आइरहेको छ ।
हाल यती एयरलाइन्सले ७ वटा एटिआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४००० भन्दा धेरै यात्रुहरूलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *