सुदूरपश्चिममा २० करोड लगानीमा सञ्चालित ‘कोल्डस्टोर’ आर्थिक अभावका कारण सङ्कटमा

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त कोल्डस्टोर लिलामी हुने अवस्थामा पुगेको हो ।

किसानको आवश्यकतालाई मध्यनजर गर्दै घोडाघोडी–१० मा वि.सं २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो कोल्डस्टोर सञ्चालन गरिएको थियो ।

रिज्म परियोजनाको एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कोल्डस्टोर २० करोड बढी लगानीमा तयार भएको थियो । निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको कोल्डस्टोरले ऋण तिर्न नसक्दा बन्द हुने अवस्था पुगेको कोल्डस्टोर सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए । उनका अनुसार स्टोरलाई २० करोड बढी ऋण रहेको छ ।

‘बैंकमा मात्रै १६ करोड ४४ लाख ऋण छ । अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी २० करोड बढी पुग्छ’, रावतले भने, ‘सरकारले अनुदान पनि दिएन अहिलेसम्म किसानकै पैसाबाट सञ्चालन भइरहेको छ ।’ उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० कोल्डस्टोरका लागि नौ करोड ९० लाख विनियोजन गरे पनि उपलब्ध भएको छैन ।

कोल्डस्टोर सञ्चालन भएकै वर्ष यहाँका तीन हजार चार सय ५३ जना किसानले आफ्नो उत्पादन राखेकामा अहिले उक्त सङ्ख्या बढेर छ हजार बढी पुगेको रावतले जानकारी दिए । कैलाली, कञ्चनपुरसहित डडेलधुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकाका किसान यसबाट लाभान्वित भएका छन् ।

किसानको सङ्ख्या बढिरहे पनि आर्थिक अभावका कारण बन्द गर्नुपर्ने अवस्था आउन लागेको रावतको भनाइ छ ।

कोल्डस्टोर भएर निकै सहज भएको कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बिउ भण्डारण गर्न आएका किसान रामु चौधरीले बताए । ‘यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको ल्याएको छु । बन्द हुने अवस्थामा स्टोर छ किसानले कसरी जीविकोपार्जन गर्ने ?’, उनले प्रश्न गरे ।

स्टोर सञ्चालनमा आएपछि खेती सुरु गरेको बताउँदै स्टोर बन्द भएमा उत्पादित तरकारी तथा आलु भण्डारणमा समस्या हुने किसान प्यारेलाल चौधरीले बताए ।

उक्त कोल्डस्टोरमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोपी राख्न मिल्ने सञ्चालक समितिका अध्यक्ष रावतले बताए । विद्युत्को बिल भुक्तानी गर्न समस्या भएपछि यहाँ पटकपटक लाइन काटिने गरेको शेयर सदस्य राजेन्द्र देवकोटाले बताए । यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरा बढेको उनको भनाइ छ ।

‘किसानबाट उठेको आठ लाख बिजुलीको बिल तिरेका छौँ’, अध्यक्ष रावतले भने, ‘बैंकले पनि यही चैत्र २० गते लिलामीका लागि बोलिसकेको छ । स्टोरलाई बचाउन किसानलाई नै शेयर जारी गर्ने अभियानमा लागेको छु ।’

प्रदेशकै ठूलो कोल्डस्टोरको संरक्षण गर्न प्रयास गरिरहेको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए ।

घोडाघोडीको मात्रै नभई किसानको पहिचानसँगै सुदूरपश्चिमको अस्तित्वसँग जोडिएकाले अन्य पालिकासँग पनि सहयोगका लागि समन्वय भइरहेको उनको भनाइ छ । साथै प्रदेश सरकारसँग पनि यसका लागि छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *