छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । सिरहा, सिरहा नगरपालिका–९ गुलरिया चोकमा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ ठेङ्गी बस्ने ४० वर्षीय डम्बर कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रमममा मृत्यु भएको हो ।
कपिलबस्तु, शिवराज नगरपालिका–९ र बिजयनगर गाउँपालिका–२ को सिमानास्थित सडकमा ना.७ ख ९०२३ नम्बरको टिपरको ठक्करबाट सहचालक बिजयनगर गाउँपालिका–२ बस्ने १८ वर्षीय इरफान मुसलमानको आइतबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य चौकी चन्द्रौटा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बाँके, राप्ती सोनारी गाउँपालिका–३ नारायणपुरस्थित सडकमा भे.११ प ४४७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका– ५ चिलरिया बस्ने ४० वर्षीय पदम राम खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
अर्का धादिङ, ज्वालामुखि गाउँपालिका–१ पिपलटारस्थित सडकमा बा.१९ च १६६४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने राजु कुमालको छोरा ६ वर्षीय रमन कुमालको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








