इलाममा नेकपा एकीकृत समाजवादीले जित्छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।
शनिवार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताए ।
‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ’ उनले भने ‘हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’
उनले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गरे ।
‘यो प्रतिष्पर्धाको सहमति हो । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ’ उनले भने‘अहिले हामी अलग अलग हिँडौँ, प्रतिष्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतिपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसावले अहिले यसमै सहमति गरेका हौँ ।
उनले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताए । उनले पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पु¥याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गरे ।
उनले अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताए ।
‘नेपालको राष्ट्रिय राजनीति यो पछिल्लो निर्वाचन पछि निकै नराम्रो ढंगले अल्मलियो । दिशाहिन हुने हो की के हो ? भन्ने डरलाग्दो परिस्थिति सिर्जना भएको थियो’ उनले भने ‘पछिल्लो अवधिमा आएर फेरि अलि विचार मिल्नेहरुको बीचमा एकता गर्नुपर्छ, भनेर अहिले वामपन्थी शक्तिहरुको सरकार बनेको छ ।
उनले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताए ।








