पाँचथर, बाँके र दार्चुलामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

बाँके । कोहलपुर नगरपालिका–३ मैटहवास्थित सडकमा लु.२ ख ५७५३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय चन्द्रेश्वर चालिसेको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पाँचथर, फिदिम नगरपालिका–४ टोर्केडाँडास्थित सडकमा प्र.१–०१–००२ प ०२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक मोरङ जहदा गाउँपालिका–२ बस्ने ३० वर्षीय विक्रम कुमार राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दार्चुला, महाकाली नगरपालिका–३ स्थित सडकमा सु.प.प्र.०२००२ त १५९२ को ट्याक्टरबाट खसेर सोही नगरपालिका–३ मानाकोट बस्ने ४० वर्षीय हरक सिंह नगालको बुधबार राति मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।








