इजरेली हमलामा इरानका दुई वरिष्ठ कमान्डर पनि मारिए, बदला लिने तेहरानको चेतावनी

एजेन्सी । सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरेलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ ।

हमलामा ११ जना मारिएका विवरणमा जनाइएको छ । तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेका छन् । रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत् जनाएअनुसार मारिनेमा ब्रिगेडियर जेनरल मोहम्मद रेजा जाहेदी पनि छन् । इरानी विदेशमन्त्री होसैन अमिरअब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन भनेका छन् ।

तनाव चुलिने सङ्केत
दमास्कसको मेज्जेह जिल्लास्थित इरानी वाणिज्य दूतावास भवन हमलापछि धुजाधुजा भएको अनलाइनमा राखिएका भिडिओहरूमा देखिन्छ । इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरेलविरोधी नारा लगाउँदै इजरेली झन्डा जलाएका छन् ।

जाहेदीको मृत्युका लागि इजरेल जिम्मेवार रहेको इरानले जनाएको छ जसलाई दुई देशबीच तनाव चुलिने एउटा सङ्केतको रूपमा हेरिँदै छ । इजरेली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे प्रतिक्रिया नदिने बताएको छ । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडन विवरणहरूबारे “अवगत रहेको” जनाएको छ । तर निशाना र त्यसका लागि जिम्मेवार पक्षबारे अमेरिकालाई थाहा हुन नसकेको ह्वाइट हाउसका एकजना प्रवक्ताले बताएका छन् । दमास्कसमा सोमवार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

जबाफी कदमको सम्भावना
बीबीसीका मध्यपूर्व विश्लेषक सेबास्टिअन अशरका अनुसार पछिल्ला केही वर्षमा इजरेलले सिरियास्थित इरानी सम्बन्ध रहेका पूर्वाधारमाथि हमला गर्दै आएको छ। तर त्यस्ता हमलाको उसले विरलै जिम्मेवारी लिने गरेको छ । उनी भन्छन्, ‘इजरेल र इरानको समर्थन रहेको हमासबीच युद्ध शुरू भएपछि यस्ता हमलाहरू बढेका छन् । तर यसले गम्भीर रूपमा तनाव चर्काउने देखिन्छ ।’

उनका अनुसार इरानले जबाफी कदमका लागि समय लिन सक्छ र अनपेक्षित रूपमा उसले हमला गर्न सक्ने सम्भावना रहेको छ । सिरियाली रक्षा मन्त्रालयका अनुसार इजरेली लडाकु विमानले इरानी वाणिज्य दूतावास रहेको भवनलाई निशाना बनाएको थियो । सिरियाली हवाई प्रतिरक्षाले केही क्षेप्यास्त्रहरूलाई खसालिदिए । तर केही क्षेप्यास्त्रले भवनलाई ध्वस्त पारिदिएको सिरियाली रक्षा मन्त्रालयले उल्लेख गरेको छ । भग्नावशेषबाट शवहरू निकाल्ने काम र घाइतेको उद्धार गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

तर हताहत हुने व्यक्तिहरूको सङ्ख्या अथवा नामबारे उसले केही बताएको छैन । हमलाको कडा निन्दा गरेका सिरियाली विदेशमन्त्री फैसल मेक्दादले घृणित आतङ्कवादी हमलाको सङ्ज्ञा दिँदै त्यसमा कैयौँ निर्दोष व्यक्ति मारिएका बताएका छन् । छुट्टै प्रसङ्गमा गाजामा एउटा हवाई हमलामा परी चारजना विदेशी सहायताकर्मी र उनीहरूका प्यालेस्टिनी चालक मारिएका छन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *