युद्धग्रस्त देशहरूमा श्रमिक नपठाउन सांसद पौड्यालको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले युद्धग्रस्त देशहरूमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौड्यालले युद्धग्रस्त क्षेत्रमा श्रमिकहरूलाई पठाउने काम सरकारले बन्द गर्नुपर्ने बताएका हुन् । उनले रुस र युक्रेनका युद्धमा नेपालीहरूले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरूलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताएका हुन् । उनले देशका विभिन्न जिल्लाहरूमा महिलाहरूको हत्या भइरहेको भन्दै महिला हत्या रोक्न सरकारसँग माग गरे ।
त्यस्तै उनले सभामुख देवराज घिमिरेको नेतृत्वमा आइपियु सम्मेलनमा भाग लिन विदेश गएको टोलीमा महिला सांसद तथा कर्मचारीहरूको संख्या ३३ प्रतिशत नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले किन ३३ प्रतिशत महिला अटाएनन् भनेर प्रश्न समेत गरे ।
उनले भने ‘रुस र युक्रेनको युद्धका कारण हाम्रा युवाहरू मृत्युवरण गरिरहेको कुरा हामीबाट छिपेको छैन । युक्रेनको सेनामा भर्ती भएका युवाहरू हामीलाई फर्काइदेऊ भनेर दैनिक रोदन हामीले सुनेका छौँ । अहिले श्रम मन्त्रालयबाट रोजगारीका लागि युवाहरूलाई जान छुट दिइएको खबर आएका छन् । सरकारले के गर्न खोजेको हो ? युवाहरू धेर भएकै हो त नेपालमा ? उनीहरूलाई युद्धग्रस्त देशमा मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहाना हो ? म प्रश्न गर्न चाहन्छु । यस्तो कार्य बन्द गर्नुपर्छ । युद्धग्रस्त देशहरूमा श्रमिकहरू पठाउने काम सरकारले बन्द गरोस् । एक हप्ताको बीचमा सात/आठ जना महिलाहरूको हत्या भएको छ विभिन्न जिल्लामा ती हत्या भएका महिलाहरूको खोज, खबर सरकारले गरेको छ कि छैन ? सरकारलाई आग्रह गर्न चाहन्छु, युवतीहरूको हत्या गर्ने काम बन्द गरियोस् । रोक्ने काम सरकारले गरोस् । सभामुख लगायत १० जनाको टिम आइपियुको सम्मेलनमा भाग लिएर आउनुभयो । हाम्रो संसदमा ३३ प्रतिशत महिला हुनुहुन्छ भनेर त्यहाँ भाषण नगरेपनि साइड बाइ साइड कुरा त पक्कै पनि भयो होला । तर जाने बेलामा सभामुख लगायत ६ जना प्रतिनिधि संसदबाट जानुभयो, ६ जनामा एकजना मात्रै महिला लगियो । संविधानले महिलालाई सांसद बनाएर यहीँ संसदको टेबुलमा बसेर टेबुल ठटाउन मात्रै पक्कै बनाएनन् होला । यस्ता कार्यक्रममा भाग लिन एक तिहाइ महिला लानुपर्थ्यो होला नि । कहाँ संसद सचिवालय चुक्यो ? चार जना कर्मचारी जाँदा एक जना पनि महिला कर्मचारी किन अटाउनुभएन ?’
उनले नगरकोट जाने सडकखण्डको अवस्था नराम्रो रहेको भन्दै त्यसको निर्माणकालागि सरकारको ध्यानाकर्षण गराए । उनले अमेरिकाको संसदमा नेपालमा धार्मिक अनास्था फैलाउन पैसा लगानी भएको कुरा उठेको भन्दै त्यसरी धार्मिक अनास्था फैलाउन कसले पैसा लिएको हो त्यसो निक्र्यौल गर्नुपर्ने बताए ।








