बागमतीका मुख्यमन्त्रीले १९ चैतमा विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलको दल नेकपा (माओवादी केन्द्र)का सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा शुक्रवार दर्ता गराएसँगै १९ गतेका लागि मिति तय भएको हो ।

नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा बिहीवार मन्त्रिपरिषद् पुनर्गठन भएको थियो ।

नयाँ समीकरणअनुसार नेकपा (एमाले), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सँगै सत्ता गठबन्धनमा हाम्रो नेपाली पार्टी (हानेपा)को प्रवेश भएको छ ।

हानेपाको साथ रहेमा बागमतीमा सत्ता गठबन्धन जोखिने अङ्कगणित थियो । सोहीअनुसार सो पार्टीले बिहीवार साथ दिएपछि जम्कट्टेल नेतृत्वको सरकार जोगिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा शहरी विकासमन्त्री बनेका छन् ।

यस्तै लक्ष्मण लम्साल श्रम, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी, युवराज दुलाल भौतिक पूर्वाधार, गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला र कुमारी मोक्तान सामाजिक विकासमन्त्री रहेका छन् ।

अन्य बाँकी ५ मन्त्रालय भने हाललाई मुख्यमन्त्री आफैँले राखेका छन् । ती मन्त्रालय एमालेलगायतलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिने छ ।

२३ फागुनमा सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *