महिलालाई नसमेटेर चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

महिलाहरू आर्थिक हिसाबले सशक्त नभई साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने उनको जिकिर छ । ‘आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन । मैले राजनीतिक नेतृत्वमार्फत महिला सशक्तीकरणका लागि सबै क्षेत्रमा महिलाको आत्मसम्मान, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नको निम्ति निकै ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेको छु,’ उनले भने, ‘राजनीतिक रुपमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारसम्म पनि महिलाहरूको राम्रो उपस्थिति हुन गएको छ । तर जबसम्म आर्थिक रूपले सबल, आर्थिक रूपले सम्पन्न बनाउन सकिँदैन, साँचो अर्थमा महिला सशक्तीकरण पनि हुन सक्दैन ।’

प्रधानमन्त्री प्रचण्डले महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताए । ‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई मैले सकारात्मक रुपमा लिएको छु । महासंघका अध्यक्ष शोभा ज्ञवालीजीले विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकियो भन्नेकुरा राख्नुभएको छ, मेरो ध्यानाकर्षण भएको छ, त्यसलाई फेरि जोडिनेछ भन्ने विश्वास म दिलाउन चाहन्छु । महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवर्द्धन गर्न, कर छुटदेखि केके सुविधा उपलब्ध गराउन सकिन्छ, मैले सोच विचार गरेर पहल लिने विश्वास पनि दिलाउन चाहन्छु,’ उनले भने ।

महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवर्द्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने उनको विश्वास छ । ‘महिला उद्यमी महासंघले महिलालाई उद्यममार्फत आत्मनिर्भर बनाउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सात वटै प्रदेशका ६१ वटा जिल्ला ओगटेको यो महासंघमा ५२ सय भन्दा बढी महिला उद्यमी हुनु आफैँमा खुसी र गर्वको कुरा पनि हो । महासंघको यो विशाल सञ्जाललाई सदुपयोग गर्दै उद्यममार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सरकार हातेमालो गर्न तयार छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *