नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभा भोलिबाट हेटौँडामा (भिडिओ)

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा वागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।

साधारण सभा शुक्रवार (भोलि) बाट शुरु हुने महासंघले जनाएको हो । बिहीवार हेटौँडामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

२५ औं वार्षिक साधारण सभा चैत्र १६ र १७ गते हुने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताए । उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढाको उपस्थिति रहने बताए ।

साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने बताए । २५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता र गुणस्तरीयता अभिवृद्धि गर्न महत्वपूर्ण हुने लक्ष्य लिएको बताए ।

उनले निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभुत छलफल गर्दै निर्माण उद्योगको विकास बिस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरु लिपिवद्ध गर्दै घोषणा पत्र जारी गर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले साधारण सभामा मुलुकभरबाट १ हजार भन्दा बढी पर्यवेक्षक र प्रतिनिधिहरुको उपस्थिति रहने बताए ।

उनले निर्माण उद्योगले अहिले भोगिरहेको समस्या समाधान गर्नु नै महासंघको मुख्य चुनौति रहेको बताए । देशमा चालु रहेका आयोजनाहरुमा बजेटको व्यवस्थापन नभएको बताए ।

श्रोत सुनिश्चितता गरेको र श्रोत व्यवस्थान नगरेका ५ खर्बका आयोजनाहरु रहेको भन्दै महासंघको सबैभन्दा ठूलो चुनौति नै श्रोत व्यवस्थापन नहुँदा आएका समस्या रहेको बताए । उनले निर्माण उद्योग चलायमान नभएकै कारण देशको अर्थतन्त्रले गति लिन नसकेको जिकिर गरे ।

निर्माण उद्योगहरु कुल क्षमताको एक तिहाईमा मात्रै सञ्चालन भइरहेको बताए । उनले नदीजन्य र खानीजन्य निर्माण सामग्रीको सही ढंगले व्यवस्थापन नभएको कारणले पनि निर्माण उद्योगले चुनौतिहरु खेपिरहेको बताए ।

सार्वजनिक खरिद ऐन नियमावली पालना गर्ने कर्मचारी, सर्भिलेन्स एजेन्सीहरु अख्तियार, महालेखा परीक्षकले दिने बेरुजुको कारणले र उनीहरुले आफ्नो जिम्मेवारी बहन नगरेका कारण पनि चुनौति आइरहेको बताए ।

उनले सरकारले आफूले गर्ने निर्णयहरु समयमा नगर्ने र राजनीतिक नेतृत्वहरु परिवर्तन हुने बित्तिकै सरकारी कर्मचारीको परिवर्तन हुने, योजना प्रमुख परिवर्तन हुने र गैर जिम्मेवार रुपमा निर्णयहरु हुने कारणले गर्दा काम समयमा सम्पन्न हुन नसकेको जिकिर गरे ।

उनले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनले म्याद थपलाई व्यवस्थित गर्ने भनेपनि म्याद मात्रै समस्याको समाधान नभएको बताए । उनले म्याद थपसँगै ठेक्का सम्पन्न गर्न आवश्यक पर्ने बजेटको व्यवस्थापन हुनुपर्ने, जग्गा प्राप्ति हुनुपर्ने बताए ।

उनले निर्माण व्यवसायीहरुले नियमित रुपमा पाउनुपर्ने २० अर्ब भुक्तानी अझै प्राप्त गर्न नसकेको बताए । म्याद थप भइसकेपछि सिर्जना हुने थप ४० अर्ब रुपैयाँ भुक्तानी पनि सरकारले व्यवस्थापन गर्नेकुरा अर्थमन्त्री वर्षमान पुनले प्रतिवद्धता जनाउनुभएको अध्यक्ष सिंहले बताए ।

अध्यक्ष सिंहले निर्माण कार्यलाई चलायमान बनाउन सबैभन्दा पहिलो आवश्यकता भनेकै म्याद भएको ठेक्का रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *