औषधि विभागको निर्देशन- ‘अनलाइन फार्मेसी सञ्चालन नगर्नू’

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए ।

अहिलेसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रूपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताए । अनलाइन फार्मेसीका नाममा औषधिको भ्रमात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उनले बताए ।

औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । ‘सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ,’ महानिर्देशक ढकालले भने ।

अनलाइन फार्मेसीबाट बिक्री वितरण गरिएका औषधिको सुरक्षितता, गुणस्तरियता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैँ जिम्मेवार हुनुपर्ने र त्यस्ता अनलाइन फार्मेसीबाट औषधि खरिद गरी सेवन नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ । अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *