जबरजस्ती पुलतिर बढेको थिए युवा समूह : १६ जना सकुशल निस्किए, ३० वर्षीय शाही अझै भेटिएनन्

काठमाडौं । सोमबार होली खेलेर आएका १७ युवा कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै हामफालेका छन् । तीमध्ये एक बेपत्ता भएका छन्। प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही बेपत्ता भएका हुन् ।

सोमबार बेलुकीसम्म गोताखोर प्रयोग गरेर खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको थियो । आज (मंगलबार) बिहानैबाट पुनः खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले बताए ।

प्रहरी निरीक्षक डाँगीकाअनुसार युवाको समूहले पुलमा सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै जबरजस्ती गएर हाम फालेका थिए । ‘उहाँहरूलाई डिउटीमा रहेको प्रहरीले रोक्न खोजेको रहेछ तर साथीभाइ धेरै दिनपछि भेटिएकाले पुलमा फोटो खिचेर फर्किन्छौं भनी जबरजस्ती गरी अघि बढ्नुभएछ,’ उनले भने, ‘नदीमा हाम फाल्दाको अवस्थाबारे सूचना थिएन । हराइसकेपछि मात्र खबर आयो । तत्काल उद्धारको प्रयास गरिएको थियो तर सकिएन ।’

पछि हाम फालेका १६ जना सकुशल बाहिर निस्किएका थिए भने एक बेपत्ता भएका हुन् । युवाहरूले हामफालेको र डुंगाबाट खोजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *