मस्को कन्सर्ट हलमा आतंकवादी आक्रमण, कम्तीमा ६० को मृत्यु

काठमाडौं । रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ । इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन् ।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ । अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएको छ ।

दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भीडभाड हुने ठाउँमा नजान भनेको थियो । रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली कान्डबाट किएभले आफूलाई परै राखेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ । रुसको न्याश्नल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेको विवरण आएका छन् ।

संसारभरबाट निन्दा
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ । रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’ लाई निन्दा गर्न त्यसअघि विश्वलाई अपिल गरेको थियो ।

अमेरिकामा ह्वाइट हाउसका प्रवक्ताले पनि गोलीकान्डका पीडितहरूप्रति आफ्नो सहानुभूति रहेको जनाएको छ । ह्वाइट हाउसले आफूले रुसी अधिकारीहरूलाई मार्चको सुरुवातमा मस्कोमा ठूला भीडहरूमा निशाना बनाउँदै आक्रमण हुनसक्ने चेतावनी दिएको उल्लेख गरेको छ । फ्रान्स, स्पेन र इटलीले पनि आश्चर्य प्रकट गर्दै हमलाको निन्दा गरेका छन् । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =