दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

१ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दूध स्टक हुँदा भुक्तानीमा चुनौती

काठमाडौँ । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दूध मौज्दात हुँदा दूध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ ।

मुलुकभरका दूध उत्पादक किसानहरूले उत्पादन गरेको दूध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो । संस्थानले मुलुकभरका दूध वितरण केन्द्रबाट संकलन भएको दूध प्रशोधनपश्चात् बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ ।

संस्थानले दूध किसानहरूले भुक्तानी नपाउनुको कारण पनि दूधबाट बनाएको मखन लगायत पाउडर दूध किसानले पाउने भुक्तानी भन्दा बढी मूल्य बराबरको मौज्दात भएको कारण भुक्तानीमा समस्या आएको जनायो । काठमाडौं, हेटौँडा, लुम्बिनी, नेपालगन्ज, विराटनगर, धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दूध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौँका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताए ।

उनले पाउडर दूध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७ सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको बताए । उनले काठमाडौं दूध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दूध स्टकमा रहेको उल्लेख गरे । उनले मुलुकभर गरी १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दूध स्टक रहेको दाबी गरे । उनले दूध बिक्रीको लागि बजार बिस्तारको ठूलो सम्भावना भएपनि सबै ठाउँमा पुर्याउन नसकिएको बताए ।

उनले डिडिसीको दूध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताए । उनले दूध खरिद बिक्री र संकलनमा अस्वस्थ प्रतिस्पर्धा हुँदा समस्या आएको बताए । उनले आयोजनासँग भएका मेसिनहरू जीर्ण भएकाले पनि दूध प्रशोधनमा समस्या रहेको बताए । प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकम भन्दा बढीको दूध मौज्दात हुँदा चालुपँजीको अभाव झेलिरहेको बताए ।

उनले पाउडर दूध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको पनि बताए । उनले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताए । उनले आयोजनासँग डेढ लाख लिटर क्षमताको दूध भण्डारण गर्नसक्ने क्षमता रहेको बताए । उनले ३ सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र ४ सय मेट्रिक टन पाउडर दूध भण्डारणको क्षमता रहेको बताए ।

उनले भने ‘सरकारले निर्धारण गरेको दुग्धको खरिद मूल्य ६५ रुपैयाँ रहेको छ । बजार बिस्तारको ठूलो सम्भावना भएको क्षेत्र काठमाडौं उपत्यका हो । प्राप्त बिक्रीको गर्ने क्षेत्र हुँदा पनि सबै ठाउँमा पुर्याउन सकेका छैनौँ । गुणस्तरको सुनिश्चितता छ । गुणस्तरीय भएकाले डीडी दूध उपभोक्तामा लोकप्रिय पनि छ । आयोजनाहरूको केही चुनौतीहरू पनि छन् । दूध खरिद बिक्री र संकलनमा प्रतिस्पर्धा छ । अस्वस्थ प्रतिस्पर्धा छ । मेसिनहरू जीर्ण भएका छन् । प्राप्त चालुपँजीको अभाव छ । पाउडर दूध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको छ । राजनीतिक हस्तक्षेप भइराख्ने गरेको छ । दूध किसानहरूले भुक्तानी नपाउनुको कारण दुग्धबाट बनाएको मखन लगायत वस्तुहरू किसानले पाउने भुक्तानी भन्दा बढी मूल्यको मौज्दात हुनु हो । आजसम्म काठमाडौं, हेटौडा, लुम्बिनी, नेपालगन्ज, विराटनगर, धनगढी, चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी पाउडर र १ हजार १५.५ मेट्रिक टन स्टक रहेको छ । मखन ७ लाख ६७ हजार १४४ केजी, ७६७.१ मेट्रिक टन मौज्दात छ । काठमाडौं दूध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दूध स्टकमा छ । एक अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दूध स्टक दुग्ध विकास संस्थानसँग छ ।’

काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ । दूध सङ्कलनको कार्य क्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आबद्ध भएर १ लाख घरधुरीबाट दूध संकलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दूध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *