१६५ निर्वाचन क्षेत्रको अपनत्व हुनेगरी बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६५ निर्वाचन क्षेत्रको अपनत्व ग्रहण गर्नेगरी आवश्यकताको आधारमा सरकारले बजेटमा योजना तर्जुमा गर्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले मुलुकलाई सन्तुलित विकासको आवश्यकता रहेको भन्दै त्यहीअनुसार बजेटको व्यवस्था गर्न जरुरी रहेको बताए ।
‘मुलुकलाई सन्तुलित विकासको आवश्यकता छ’उनले भने‘१६५ निर्वाचन क्षेत्रले अपनत्व ग्रहण गर्ने हिसावले पहुँचको आधारले होइन आवश्यकताको आधारमा योजनाहरु तर्जुमा गर्नुपर्ने छ । पूर्वाधारको व्यापक विकास नै अहिलेको आवश्यकता हो ।’
उनले पूर्वाधारको व्यापक विकास अहिलेको आवश्यकता भएको दाबी गरे । आइटी नयाँ क्षेत्र र सरकारले सोचेको भन्दा बढी आम्दानी र रोजगारी दिने भएकाले सरकारले आइटीलाई सरकारले प्राथमिकताका साथ उल्लेख गर्नुपर्ने बताए ।
उनले सरकारले आइटी क्षेत्रलाई उकास्ने किसिमको नीति निर्माण गर्न अहिलेसम्म नसकेको बताए । उनले बजेटमा योजना समावेश हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य गर्न आवश्यक रहेको बताए ।
‘आइटी नयाँ क्षेत्र हुनसक्छ । आइटीले हामीले सोचेको भन्दा बढी आम्दानी र रोजगारी दिने अवस्था छ । आइटीलाई सरकारले प्राथमिकताका साथ उल्लेख गर्ने गरेका छौं’उनले थपे‘आइटीलाई इन्करेज गर्ने किसिमको नीति निर्माण गर्न सकेका छैनौं । रातो किताबमा योजना समावेश हुन्छ । बजेट विनियोजन पनि हुन्छ । तर कार्यान्वयन हुँदैनन् ।’
उनले पुँजीको निर्माण नभई मुलुक दिगो विकास हुन नसक्ने भन्दै सरकारले अल्पकालिन रोजगारी भन्दा पनि दीर्घकालिन रोजगारी निर्माण गर्न विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले बजेटमा प्रतिफल दिने कुरालाई मात्रै महत्व दिन सुझाव दिए ।
अर्थमन्त्रीले अहिलेको मुलुकको आवश्यकता र अपेक्षालाई हेरेर बजेट ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
‘सरकारले अल्पकालिन रोजगारीको कुरा गरेर होइन दीर्घकालिन रोजगारी कसरी निर्माण गर्नसक्छौं । त्यसतर्फ सोच्नुपर्छ’उनले भने‘बजेटमा प्रतिफल दिने कुरालाई मात्रै महत्व दिनुपर्छ ।अर्थमन्त्रीले अहिलेको मुलुकको आवश्यकता र अपेक्षालाई हेरेर बजेट ल्याउनुहुनेछ भन्ने विश्वास छ ।’








