धरानमा हत्या गरिएकी युवतीको परिचय खुल्यो 

काठमाडौं । सुनसरीको धरानमा हत्या गरेको अवस्थामा भेटिएकी युवतीको शवको सनाखत भएको छ । धरान-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको शवको  सनाखत भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीकाअनुसार उक्त शव धरान-१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठ रहेको खुलेको छ । ‘बुधबार साँझ अभिभावक आएर शवको सनाखत गरेका छन् । हामी थप अनुसन्धान गर्दैछौँ,’ उनले भने, ‘यो घटनासँग सम्बन्धित थप विवरण हामी पछि सार्वजनिक गर्ने छौँ ।’

युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको हत्यामा संलग्न व्यक्तिको पहिचान पनि खुलिसकेको प्रहरीले बताएको छ । फरार रहेका उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् । खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको छ ।

युवतीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *