विदेशी बन्दीगृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन्।

गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका हुन्।

सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको बिषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका बिषयमा समेत जानकारी गराउन निर्देशन दिएका हुन्।

 

सबै गन्तब्य मुलुकबाट तथ्यांक संकलन उद्धार तथा समस्या समाधानको योजना बनाईने समेत उनले बताए।

‘विदेशी हस्पिटलमा रहेका श्रमिकका स्थानीय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाईनेछ। बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौ,’ उनले भने।

त्यस्तै, विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाईने व्यवस्था गरिने उनले बताए।

बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बीमाको सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिएका हुन्।

‘विदेशी मुलकले आप्रवासी श्रमिकलाई बिमाको सुविधा प्रदान गरेका हुन्छन्। तर, सबै नेपाली श्रमिकलाई यस बिषयमा जानकारी नहुन सक्छ। त्यसैले धेरै श्रमिक यो सुविधाबाट बन्चित भएको सुनेको छु। यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बो रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु,’ उनले भने।

त्यसैले नेपाली श्रमिकले पाउने यस्तो सुविधाको लागि पहल गर्न उनले बोर्डलाई निर्देशन दिए।

त्यस्तै छलफलमा श्रम सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगार बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशिल हुन समेत आग्राह गरे।

‘बोर्डले श्रमिकको मुद्धामा संवेदनशील नभएको गुनासो छ। त्यसैले आफनो जिम्मेवारी प्रति सचेत हुनुहोस,’ उनले भने।

त्यस्तै, सोमबार मन्त्री अर्यालले नेपालका श्रम गन्तब्य मुलुक मलेसिया, कतार, साउदी अरब, युएई, बहराईन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सलरसँग श्रमिकको समस्याको बिषयमा भरर्चुल छलफल गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *