संसद् बैठक आज, अवरोधकै तयारीमा कांग्रेस

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

यसअघि आइतबारका लागि बोलाइएको संसद बैठक जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आज बस्ने गरी स्थगित भएको थियो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै आजको बैठकमा पनि आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

अवरोधकै तयारीमा कांग्रेस
शुक्रबारको बैठकमा कांग्रेस सांसदहरूले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले ४ चैतसम्मका लागि बैठक स्थगित गरेका थिए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेले समय दिन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

सहकारी ठगी प्रकरणमा नाम जोडिएकाले गृहमन्त्रीमा लामिछानेको बहाली अस्वाभाविक भएको भन्दै उनीहरूले प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएसम्म संसदमा अवरोध कायम राख्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =