कानूनविद् सुवेदी भन्छन्– नेपालमा संसद अवरुद्ध हुनु हुँदैन

काठमाडौं । कानूनविद् डा. सूर्य सुवेदीले नेपालमा संसद अवरुद्ध हुनु नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले सो टिप्पणी गरे ।

शनिवार काठमाडौंमा आयोजित प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता सुवेदीले संसदको जननी मानिएको बेलायतमा कहिल्यै संसद अवरुद्ध नहुने दृष्टान्त पेश गर्दै नेपालमा पनि अवरोध गर्न नमिल्ने तर्क गरे ।

उनले संसदमा जति पनि कुरा राख्न पाइने हुनाले संसद अवरोध गर्न आवश्यक नभएको पनि स्पष्ट पारे । कानूनविद सुवेदीले नेपालका राजनीतिक दलहरुले संसद अवरोध गर्ने कुरालाई प्रजातान्त्रिक अभ्यास भन्ने गरेपनि त्यो वास्तविक प्रजातान्त्रिक अभ्यास नभएको जिकिर गरे ।

नेपालमा धेरै कानून, धेरै विकास गर्नुपर्ने र जनतालाई इम्पावर गर्नुपर्ने भएकाले पनि संसद अवरुद्ध पार्ने काम गर्न नहुने उनको भनाई थियो ।

उनले भने– ‘अव यो संसदीय प्रणालीलाई कसरी व्यवहारमा कार्यान्वयन गर्ने भन्ने चुनौतिहरु छ भन्ने मलाई लागेको छ । किनभने संसदीय प्रणाली के हो भन्ने कुरा म दुई वटा उदाहरण दिन्छु यहाँहरुलाई । नेपालमा चाहीँ संसद चलिरहेको बेला संसद अवरुद्ध गर्ने भन्ने छ । यदि बेलायत संसदको जननी मुलुक हो भने त त्यहाँको अभ्यास हामीले हेर्नुप¥यो । त्यहाँ संसद कहिल्यै अवरुद्ध हुँदैन । किन संसद अवरुद्ध हुँदैन भने पार्लियामेण्टमा जति पनि बोल्न पाइएको छ नि । सरकारको बिरोध गर्न पाईराखिएकै छ नि । किन संसद अवरुद्ध गर्ने ? नेपाल जस्तो देशमा त संसद अवरुद्ध हुनै हुँदैन । धेरै कानून बन्नुपर्नेछ । यति धेरै विकास गर्नुपर्नेछ । यति धेरै जनतालाई इम्पावर गर्नुपर्नेछ कि जनतालाई । त्यो संसद अवरुद्ध गर्ने कुरा यो कहाँबाट आयो ? फेरि मान्छेले भन्छन्–यो प्रजातान्त्रिक अभ्यास हो । म चाहीँ त्यसलाई प्रजातान्त्रिक अभ्यास ठान्दिन । अब यहाँहरुलाई मैले देखेको के छ भने–संसदीय व्यवस्थाबाट अहिले भएको संविधान मुलभुत रुपमा एकदम ठिक छ । तर यसलाई समयसापेक्ष संशोधन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।’

कानूनविद् सुवेदीले नेपालको संविधान संसदीय व्यवस्थाका लागि मुलभुत रुपमा ठिक भएको उल्लेख गर्दै त्यसलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने आफूले देखेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =