माघ २२ गतेदेखि बेपत्ता भएकी सुष्मा, गाडिएको अवस्थामा फेला

काठमाडौँ । शिवपुरी जंगलमा एक किशोरीको शव फेला परेको छ ।
गोकर्णेश्वर नगरपालिका– ३ शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा किशोरीको शव गाडिएको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थललाई सुरक्षित राखेको थियो । फागुन २५ गते शुक्रवार बिहान ८ बजे विशेषज्ञ तथा फरेन्सिक डाक्टर सहितको टोलीले उक्त शव निकालेको थियो ।
शव गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने १८ वर्षीया सुष्मा लामा रहेको एसपी अधिकारीले बताए ।
सुष्मा गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन् । आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए ।
हाल उनको शव टिचिङ अस्पतालमा पोष्टमर्टम गरिदैँछ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








