मोफसलमा चित्रकारिताको सुगन्ध छरिरहेका कलासाधकहरू

झापा । पैतीस वर्ष अघि साथीसँग सापटी मागेको ४०० बोकेर राजधानी काठमाडौँ पुगेका झापाका पवन राजवंशी अहिले आफ्नो समुदायको पहिलो ‘प्राज्ञ’ हुन् । ललितकला क्याम्पसको औपचारिक अध्ययनपछि काठमाडौँका केही ‘आर्ट ग्यालरी’मा चित्रकारिताको अभ्यास गरेका राजवंशीले तीन दशकयता गृहजिल्लामै बसेर कला–साहित्य साधना गरिरहेका छन् ।

चित्रकार राजवंशीका हास्यव्यङ्ग्य र समसामयिक चित्रकला प्रख्यात छन् । वि.सं. २०६९ मा नेपाल ललितकला प्रतिष्ठानले उनलाई प्राज्ञ मनोनयन गरेको हो । कनकाइ नगरपालिका– ८ घैलाडुब्बा निवासी ५४ वर्षीय राजवंशी कलाकारिताकै माध्यमबाट मान, सम्मान र अर्थोपार्जन गर्न सफल भएकामा आल्हादित छन् ।

‘मेची क्याम्पस पढ्दापढ्दै पकेट खर्च बोकेर अवसरको खोजीमा काठमाडौँ भासिएको थिएँ,’ कलायात्राका आफ्ना पुराना दिन सम्झिदै उनी भन्छन्–‘म भाग्यमा होइन, कर्ममा विश्वास गर्छु । यही कलाकारिताले मलाई अहिले सबथोक दिएको छ । कलाकर्मीको रूपमा चिनिएको छु ।’

अग्रज साहित्यकार रमेश विकलले चित्र कोर्न हौस्याएपछि चित्रकारितामा जमेर लाग्नु भएको उनले पचासको दशकअघि नै राजधानीका स्थापित रूपरेखा, हिन्दु, रविवार, बुधबारलगायत साप्ताहिक पत्रिकामा व्यङ्ग्यचित्र बनाएर चर्चा बटुलिसकेका थिए ।

कलाकार उत्पादन गर्ने र नवप्रतिभालाई सम्मान गर्ने उद्देश्यले उनले स्वर्गीय बुवा कुलदीप राजवंशीको स्मृतिमा कला प्रतिष्ठान स्थापना गरेका छन् । उनले बाचमु कला प्रतिष्ठान स्थापना गरेका छन् ।

‘आदिवासी समुदायको भाषा, कला, साहित्य, संस्कार र संस्कृतिको जगेर्ना गर्ने अभियानमा सक्रिय राजवंशीले धार्मिक ग्रन्थ ‘गीता’लाई राजवंशी भाषामा अनुवाद गरेका छन् । झापाका आधा दर्जन जति विद्यालयमा उनी चित्रकला शिक्षकको रूपमा कार्यरत छन् भने उनका चित्रकलाले प्रदर्शनीमा स्थान पाउने गरेका छन् ।

झापा ‘गोल्डकप’को प्रतीक चिह्न र बाह्रदशी गाउँपालिकाको आदिवासी पहिचान झल्काउने प्रतिमा निर्माण गरेका उनका चित्रहरूको रङ्गीन पत्रिका ‘अनुभूति’ प्रकाशित भइसकेको छ । झापाकै माटोको सुगन्ध मगमगाउने अर्का प्रतिभा हुनुहुन्छ–छितेन शेर्पा ।

मेचीनगर–६ काँकडभिट्टालाई कार्यथलो बनाएर जिल्लाभर ललितकलाको उत्थानमा जुट्नु भएको उनले देही आर्ट ग्यालरी सञ्चालन गर्दै आएका छन् ।

काँकडभिट्टामा २०७१ देखि ०७५ सम्म तीनपटक आयोजना भएको साहित्य कला उत्सवमा शेर्पाले नै कला विधाको नेतृत्व गरेका थिए । समाजमा कला चिनाउन कठिन भइरहेका बेला यसबाटै जीविका चलाउन सहज थिएन तर, उनले विद्यालयहरूमा कला शिक्षकका रूपमा काम गरेर जीवनयापनलाई सहज बनाउने प्रयास गरे ।

उनले स्वध्ययनबाटै चित्रकारितालाई उजिल्याएका हुन् । उनका कलाकृतिहरू अन्तर्राष्ट्रिय ग्यालरीहरूमा सजिइसकेका छन् । उनी कुलदिप राजवंशी स्मृति कला उत्थान सम्मान र सुसेली प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

पूर्वी नेपालका जातीय तथा सांस्कृतिक बिम्बहरूलाई कलामा उतार्ने उनको विशेषता लोकप्रिय छ । ‘कला साधनामा मौलिकता भेटिएन भने खल्लो हुन्छ,’ उनी भन्छन्–‘राज्यको संरचनाले कलाको सही मूल्याङ्कन गर्न सकेन भने चोकहरूमा विकृत मूर्तिहरू ठडिन्छन् । पर्यटन प्रवर्द्धनको बहानामा राज्यको ढुकुटी खर्चेर पर्यावरण नै नाश हुने संरचनाहरू बनिरहन्छन् ।’

उनले पूर्वी नेपाल कला र संस्कृतिमा धनी भए तापनि त्यसको जगेर्ना हुन नसकेकामा गुनासो गर्छन् । हरेक विद्यालयमा कला शिक्षक तोकिनुपर्ने र कलाकृतिको बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा उनको जोड छ ।

देही आर्ट ग्यालरीमा उनीसँग कला सिक्नका लागि नयाँ पुस्ताका प्रशिक्षार्थीको घुइँचो लाग्छ । आफ्ना शिष्यहरूलाई लिएर उनी नेपाल र भारतका कला कार्यशाला र प्रदर्शनीहरूमा पुग्ने गर्छन् । यसोगर्दा सिकारु कलाकारको सीप तिखारिने उनी बताउछन् । झापामा बसेर चित्रकारितामा योगदान पुर्याइरहेका अर्का प्रतिभा हुनुहुन्छ– हिम्मत नेम्वाङ ।

कनकाइ–३ निवासी ५३ वर्षीय नेम्वाङ दृष्टिविहीनहरुले समेत अनुभूति गर्न सक्ने ‘रिलिफ पेन्टिङ’ बनाउन सिपालु हुनुहुन्छ । गत साता झापाको सुरुङ्गामा रोटरी क्लबले आयोजना गरेको कला साहित्य उत्सवमा उहाँका ‘रिलिफ पेन्टिङ’ले धेरै प्रशंसा पाएको थियो ।

‘वि.सं. २०६१ मा आफूसँगै नवप्रतिभाको पुरस्कार पाउने दृष्टिविहीन जेठा मुर्मुले चित्रकलाको अनुभूति गर्न नसकेको गुनासो गरेपछि मेरो दिमागमा नयाँ उपाय फुर्यो,’ उनले ‘रिलिफ पेन्टिङ’का बारेमा बताउँदै भने–‘त्यसपछि मैले चिनियाँ माटोलाई काठ र भित्ताहरूमा पोत्दै मूर्ति र चित्रको सम्मिश्रणबाट नयाँ प्रयोग गरेँ । त्यही नयाँ प्रयोग नै ‘रिलिफ पेन्टिङ’ थियो ।’

हेर्दा चित्र जस्तो र छाम्दा मूर्ति जस्तो अनुभूति हुने उनका ‘रिलिफ पेन्टिङ’ अचेल प्रदर्शनीहरूमा अवलोकनकर्ताको आकर्षण बन्ने गरेको छन् । उनी परम्परागत र आधुनिक दुवै विषयमा चित्र र मूर्ति बनाउछन् । उनले बनाएका ‘भारी बोकिरहेका गौतम बुद्ध’को मूर्तिले अत्यधिक चर्चा पाएको छ । यसलाई उनी आध्यात्मिक र मार्क्सवादी दर्शनको फ्यूजन भन्न रुचाउछन् ।

‘मार्क्सवादी दर्शनले श्रम गर्नुपर्छ भन्छ, अहिले भौतिक विज्ञानको युगमा धर्मको कुरा मात्र गरेर हुँदैन,’ उनी बुद्ध मूर्तिको व्याख्या गर्दै भन्छन्–‘पूजापाठ गरिरहँदा पनि त्यहाँ नैवेद्य, फलफूल र पैसा चाहिन्छ । त्यसका लागि श्रम अर्थात् काम गर्नुपर्छ । काम नगरी धर्मकर्म हुँदैन । पहिलो श्रम अनि मात्र धर्म हो । यस मूर्तिकलामा बुद्ध आफैले साधना गरेर भोको पेटमा निरन्तर श्रम गरिरहेको देख्न सकिन्छ ।’

उनको कलायात्राको प्रेरणाको स्रोत हजुरबुवा रणध्वज नेम्वाङ थिए । उनको हजुरबुवा शिक्षाविद्, साहित्यकार र मूर्तिकार थिए । पछि यो कला उनले आफ्ना बुवामार्फत सिके । स्कुल पढ्दा अंशु वर्माको चित्र बनाएर कालोपाटीमा टाँस्दा साथी र शिक्षकले प्रशंसा गरिदिदा आफूमा कलाप्रतिको प्रेम मौलाएको उनले बताए ।

‘गोठालो जाँदा धुलोमा चित्र बनाइन्थ्यो । तिनलाई साथीले राम्रो मान्थे । त्यतिखेर रङ थिएन । अँगार र सिमीको पातको झोलले चित्र कोरिन्थ्यो । सनपाटको बुरुस बनाएर कोरिन्थ्यो । चित्र कोर्दै जाँदा एउटा चीज हुन्थ्यो । त्यसरी नै कलामा प्रभावित भइयो,’ उनले कलायात्रा बताउँदै भने–‘म स्वध्ययनबाट चित्रकार बनेको हुँ । ‘सिनियर आर्टिस्ट’सँग सम्पर्क भयो । भारतमा एउटा इस्न्टिच्यूटमा छ महिना कला अभ्यास गरेँ । समसामयिक आधुनिक मूर्तिकलाका बारेमा अध्ययन गरेँ । विश्वप्रसिद्ध कलाकारहरूको जीवनी पढेँ ।’

उनले आफ्नी छोरी सपनालाई पनि चित्रकारितामा लाग्न प्रेरित गर्नु भएको छ । हाल सपना ललितकला विषयमै स्नातकोत्तर तहको अध्ययन गरिरहेका छन् । उनले सन्थाल समुदायको बब्लु हेमरमलाई चित्रकला सिकाएर विभिन्न आदिवासी क्षेत्रमा कला कौशललाई विस्तार गरेका छन् । कनकाइ–३ कै बब्लु हेमरमले सन्थाल संस्कृति र परम्परालाई झल्काउने विभिन्न चित्र कोरेका छन् ।

नेम्वाङले त्यस्ता चित्रकलालाई प्रोत्साहित गर्न आफ्नै प्रदर्शनीमा स्थान दिने गर्नु भएको छ । टुकीको मधुरो प्रकाशमा फाटेको लुगा सिइरहेकी एउटी सन्थाल महिला र उनको छोराको चित्र हालै सुरुङगामा आयोजित महोत्सवमा चर्चित भएको थियो ।

‘मलाई हिम्मत सरले नै चित्रकला सिकाउनु भएको हो,’ हेमरमले भने–‘हुन त म अहिले ‘वाल आर्ट’गर्छु । कला प्रदर्शनीह आयोजना हुँदा उनीसँगै सहकार्य गरेर विभिन्न मौलिक चित्रहरू बनाउने गर्छु ।’ स्थानीय पालिकाहरूले स्थानीय कला र कलाकर्मीहरूको संरक्षण गर्ने हो भने नेपालमा चित्रकारिता गरेर सहजै गुजारा चल्ने नेम्बाङ बताउछन् ।

आम मानिसमा चित्रकला, मूर्तिकला र हस्तकलासम्बन्धी चेतना कम भएको जनाउँदै उनले यसलाई विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गर्न आवश्यक भएको बताए । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पस र काठमाडौँ विश्वविद्यालयमा मात्र उच्च तहको कला विधामा अध्ययन अध्यापन हुने तर भारतका प्रत्येक प्रान्तमा कला विश्वविद्यालय रहेका उनले बताए ।

उनले आफ्नै घरमा ‘सेवारो आर्ट ग्यालरी’ सञ्चालन गर्दै आउनु भएको छ । वि.सं. २०६१ मा क्रियटिभ आर्टस् ग्यालरीबाट मूर्तिकला र चित्रकला बनाउन थालेका उनले ग्यालरीमा २५ वटा ढुङ्गाका ठूला मूर्ति कुँदेर सजाएका छन् भने त्यसलाई सङ्ग्रहालय बनाउने उनको भावी योजना छ ।

भारतको विहार, सिक्किम र पश्चिम बङ्गालका विभिन्न स्थानमा उनका मूर्ति बिक्री भएका छन् । उनले काठमाडौँमा सातपटक, बङ्गलादेशमा एकपटक, भारतको मध्यप्रदेशमा एकपटक कला प्रदर्शनी आयोजना गरेका छन् । मोफसलमा पनि उनको पाँचौँ एकल कला प्रदर्शनी भइसकेको छ ।

मेचीनगर–६ काँकरभिट्टालाई नै कर्मथलो बनाउँदै आएका झापाका अर्का प्रतिभाशाली कला साधक हुन्– ५२ वर्षीय केसाङ लामा । विद्यार्थी छँदा साथीहरूले तत्कालीन राजा वीरेन्द्रको दुरुस्त चित्र बनाएको देखेपछि चित्रकलामा आकर्षित भएको बताउने उनले वि.सं. २०७८ मा तीन दशक राजधानीको बसाई टुङ्ग्याएर आफ्नै गृहनगर मेचीनगरमा आएर कला सिकाउने अभियान थाले ।

बहुसांस्कृतिक एकता समाज नामको ग्यालरी स्थापना गरेका उनले मेचीनगरका चार वटा विद्यालयमा नियमित रूपमा नृत्य र चित्रकला प्रशिक्षण गरिरहेका छन् । ‘कला धेरै प्रकारका हुन्छन्, तर उपयोगी कला जानेको व्यक्ति कहिल्यै भोको बस्नु पर्दैन,’ उनी भन्छन्–‘ललितकलाका साथीहरू आफ्नै कल्पनामा मात्र चित्र कोर्छन् । हामी चाहिँ अर्काले गरेको परिकल्पनामा कागज, काठ वा भित्ताहरूमा चित्र कोर्छौँ । त्यहीभएर हाम्रो कलालाई उपयोगी कला भनिएको हो ।’

उनले बुद्धको जन्मस्थल नेपाल हो भनेर चिनाउने उद्देश्यले हालै ८० मिटर लामो उपयोगी चित्रकला बनाएका थिए । झापामा त्यसको सार्वजनिक प्रदर्शनी भएको थियो । नयाँ पुस्तालाई कलाकारिताका सीप हस्तान्तरण गर्दै नयाँ कलाकार उत्पादनका लागि आफू अहोरात्र खटिरहेको चित्रकार लामा बताउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *