रास्वपाले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
सोमवार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रिय समिति बैठकले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
तर प्रदेश सभामा बझाङ १ को उपनिर्वाचनमा भने पार्टीले भाग नलिने निर्णय गरिएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।
त्यसैगरी बैठकले सो उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारको कामबारे समिक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरुसँग छलफल गरेर सरकारको कामको समिक्षा गर्ने निर्णय पनि गरेको छ ।
पार्टीलाई सरकार, संसद र संगठनमा बलियो बनाउन सहयोगी टिमहरु गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताए ।
उनले भने ‘दुई मुख्य एजेण्डा थिए– एउटा सरकारमा सहभागी भईसकेपछि जुन राजनीतिक परिस्थितिको कुरा थियो । त्यो निर्णयलाई अनुमोदन गर्ने कुरा थियो । र, यसको विभिन्न ब्याख्या, विश्लेषण गर्नुपर्ने थियो । त्यसका बारमा निर्णय गरेका छौं । त्यस्तै गरी दोस्रो उपनिर्वाचनको सन्दर्भमा पनि हामीले केही निर्णय गरेका छौं । सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरियो । साथै सरकारको कार्य सम्पादनको आवधिक समिक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद, संगठनमा सल्लाहको आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरियो । त्यस्तै दोस्रो निर्णयमा हामीले इलामको उपनिर्वाचनमा भाग लिने, दल दर्ता गर्ने निर्णय ग¥यौं भने प्रदेश सभाको निर्वाचन जुन बझाङको थियो । त्यसमा हामीले भाग नलिने निर्णय गरेका छौं ।’
यसअघि चुनावको तयारीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई इलाम खटाएको थियो ।
एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको छ ।
रास्वपाले स्थानीय आवश्कता हेरेर उम्मेदवार खडा गर्ने बताएको छ । तर उम्मेदवारको भने टुंगो लागेको छैन ।








