न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनले बनायो संयन्त्र

काठमाडौं । सत्ता गठबन्धनले सरकारका प्राथमिकता तय गर्न १० सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ ।
आइतबार अर्थ मन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो । संयन्त्रमा सरकारमा सहभागी पाँच दलबाट २/२ जना छन् ।
संयन्त्रमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल छन् ।
सत्ता समीकरणमा सामेल पाँच वटै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न एमाले नेता विष्णु रिमाललाई मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ ।
सरकारका आगामी कार्यलाई प्रभावकारी बनाउन प्राथमिकताका विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पार्ने छ ।








