बिग्रिएको राजनीतिक परिस्थिति रास्वपाले हस्तक्षेप गर्यो : सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गरेर नयाँ गठबन्धन बनेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक परियारले बिग्रिएको राजनीतिक परिस्थितिलाई पार्टी सभापति रवि लामिछानेको पहलमा हस्तक्षेप गरिएको बताएका हुन् । उनले रास्वपाले नयाँ गठबन्धन बनाउन मुख्य भुमिका खेलेको बताए । उनले पुराना पार्टीहरूले सदनमा प्रतिस्पर्धा र निर्वाचनमा सहकार्य गर्ने गरेका भन्दै आगामी दिनमा निर्वाचनमा प्रतिस्पर्धा र सदनमा सहकार्य गर्नुपर्ने बताए । उनले इलाम २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनावमा होमिने र जित्ने दाबी पनि गरे ।

उनले भने ‘अहिलेको अवस्थामा रहेको देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न, संविधानले व्यवस्था गरेका जनताका अधिकारहरूलाई सुनिश्चित गर्न प्रधानमन्त्रीले जुन मन्त्रिमण्डल गठन गर्नुभएको । आज एउटा ऐतिहासिक क्षण हो भन्ने लाग्छ मलाई । राष्ट्रिय स्वतन्त्र पार्टी सदनमा आइरहँदा सदनको यही रोष्टममा पहिलोपटक बोलिरहँदाखेरी पार्टीको तर्फबाट आफ्नो बिचारहरू राखिरहँदाखेरी मैले भनेको थिएँ कि हामी दुई, चारजना व्यक्ति मात्रै आएका छैनौँ । तत्कालीन समयको, आजको हाम्रो समयको पेचिलो मुद्दाहरूलाई बुझेर समाज रूपान्तरणको विचारसहित नयाँ हस्तक्षेप गर्न आएका छौँ भनेर हामीले भनेका थियौँ । म जानकारी गराउन चाहन्छु, बिग्रेको राजनीतिक परिस्थितिलाई आज हाम्रो पार्टीका सभापतिको पहलमा हामीले हस्तक्षेप गरेका छौँ । र हामीले यो नयाँ गठबन्धन बनाउनमा मुख्य भुमिका खेलेका छौँ । हामी त सदनमा सहकार्य गरौँ भन्न चाहन्छौँ । निर्वाचनमा प्रतिस्पर्धा गरौँ भन्न चाहन्छौँ । तर हाम्रो संसदीय अभ्यासमा हिजोदेखि तपाईँहरूले के गर्नुभयो ? सदनमा सधैँ प्रतिस्पर्धा गर्नुभयो । र निर्वाचनमा गएर सहकार्य गर्नुभयो । जसले गर्दाखेरि, लोकतन्त्रलाई पनि कमजोर बनाइदिनु भयो । म जानकारी गराउन चाहन्छु, एउटा दुखद घटनाका कारण इलाममा निर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहन्छ, इलामको निर्वाचनमा हामी प्रतिस्पर्धा गरौँ । सहकार्य नगरौँ । राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै उभिएर त्यो निर्वाचनमा प्रतिस्पर्धा गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को निर्वाचन जित्छ पनि ।’

उनले आफूहरू प्रश्न गर्ने मात्रै नभई समस्याको समाधान गर्न पनि सरकारमा सामेल भएको बताए । विगतमा नेपाल बनाउन सुरु नै नगरिएको जिकिर गर्दै उनले अब नेपाल बनाउने काम सुरु हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =