रैथाने बीउ र परिकार संरक्षणमा युवाको सक्रियता

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभरमा दाङ घोराही उपमहानगरपालिका–१२ डाँडा गाउँकी २७ वर्षीया सुशीला चौधरी रैथाने बीउ लिएर आइपुगेकी छिन् । तीनदिने युवा सम्मेलनमा आइपुगेकी चौधरी विगत तीन वर्षदेखि रैथाने बीउ संरक्षण अभियानमा सक्रिय छिन् ।

‘गाउँमा हिजोआज सम्फुको साग, सिमतारे धान, कालो मास, आलस जस्ता रैथाने बाली पाइन छाड्यो’, उनले भनिन्, ‘रैथाने बीउ हाम्रो खानपान मात्र होइन हाम्रो पहिचान पनि भएको हुनाले यसलाई जोगाउनमा हामी युवा नै लाग्नुपर्छ ।’

गाउँमा उनीले आफूले मात्र रैथाने बीउ संरक्षण नगरी समुदायस्तरमा संरक्षणका लागि अभियान चलाएकी छन् । ‘हामीलाई प्रत्यक्ष मात्रामा पुग्ने भिटामिन दिने यस्ता रैथाने खाद्य सामग्री हराउँदै गइरहेका छन्, यिनको संरक्षण गर्न आवश्यक भएको हुनाले युवाले रैथाने बीउको संरक्षणमा लाग्न जरुरी छ ।’

सुशीला जस्तै पुथा उत्तरगङ्गा गाउँपालिका १० तकसेरा रुकुम पुर्वका मैत्या धर्ती मगर पनि रैथाने बीउ संरक्षण अभियानमा जोडिएकी छन् । गाउँमा आफ्नै घरबास सञ्चालन गर्दै आएका मैत्या घरबासको भान्सामा रैथाने परिकार नै पकाउछिन् । यही मङ्सिरदेखि घरबास चलाइरहेका मैत्याले युवालाई रोजगारी दिएका छन् ।

रैथाने बीउ बिजन संरक्षणका लागि मैत्याले आफ्नै गाउँमा ‘अर्ग्यानिक कृषि तथा पशु पन्छी पालन समूह’ स्थापना गरेकी छन् । उनीलगायत समूहमा आबद्ध भएका युवाले आफ्नै गाउँघरमा पाइने तर लोप हुँदै गइरहेका रैथाने बिउलाई संरक्षण मात्र नगरी किसानलाई र स्थानीय सरकारलाई संरक्षणका लागि जनचेतना समेत फैलाउने काम गर्दै आइरहेका छन् ।

‘हामी युवाहरूले हाम्रो गाउँमा मात्र नभई रुकुम पूर्वका केही भेगमा पनि लोप हुँदै गइरहेको बीउलाई हाम्रो समूहमा संरक्षण गर्ने मात्र नभई स्थानीय र स्थानीय सरकारलाई समेत संरक्षणका लागि आग्रह गर्ने काम गर्दै आइरहेका छौँ,’ उनीले भनिन्, ‘हामीले हाम्रो रुकुम पूर्वमा सञ्चालन भएका प्रायः घरबास (होमस्टे) मा आफ्नै गाउँघरमा उब्जिएको रैथाने परिकार पकाउन पनि आग्रह गर्ने गर्दछौँ ।’

सुशीला र मैत्या जस्तै रुपन्देहीकी २० वर्षीया सुनिता हरिजन पनि विगत दुई वर्षदेखि रैथाने बीउ संरक्षणमा सक्रिय छिन् । भर्खरै स्नातक अध्ययनरत सुनिताले परम्परागत बाली मासिन थालेपछि रैथाने बीउ संरक्षणमा लागेको बताइन् ।

‘पहिला चामलको पीठोबाट बन्ने गुलगुला, फरा, गुजियालगायत खानेकुराका परिकार हिजोआज सुजी र मैदाबाट बन्न थालेपछि पुरानै परिकारलाई संरक्षण गर्नुपर्छ भनेर यो अभियानमा लागेको हुँ’, उनीले भनिन्, ‘रैथाने खानेकुरामा पाइने पौष्टिकतत्व र स्वाद बेग्लै हुन्छ, त्यसलै अहिलेको पुस्ता संरक्षणमा लाग्न जरुरी छ ।’

सम्मेलनमा लुम्बिनी प्रदेशबाट सहभागी भएका ३८ समूहका युवाले ७८ प्रजातिका रैथाने बीउ सङ्कलन गरेका थिए । उक्त सङ्कलित रैथाने बीउ राष्ट्रिय जिन बैङ्कका प्रमुख डा बालकृष्ण जोशीलाई हस्तान्तरण गरिएको थियो ।

सो सम्मेलनमा युवाका विषयमा विभिन्न कार्यपत्रका साथै युवा सांस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिएको लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरिएको नेपाल युवा परिषद्का संस्थापक केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाले आफ्नो कला संस्कृति झल्कने वेशभूषा, स्थानीयस्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीउ उक्त प्रदेश युवा सम्मेलनमा प्रदर्शन गरिएको युवा परिषद् प्रदेश संयोजक सोम गुरुङले बताए ।

सम्मेलनले युवा उद्यमशीलताको सिर्जना सम्भावना र रचनात्मक, प्रभाकारी शासनका लागि युवा सशक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता, दिगो भविष्यका लागि पहल, वन्यजन्तु संरक्षणमा डिजिटल आविष्कार अन्वेषणलगायत विषयगत क्षेत्रमा छलफल भएको घरबास (होमस्टे) महासङ्घका महासचिव कृष्ण चौधरीले बताए ।

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्षमा सामान परिवेश’ भन्ने मूल नाराका साथ बाँकेको गाभर भ्यालीमा सम्मेलन आइतबारदेखि तीन दिनसम्म चलेको थियो । नेपाल युवा परिषद्ले सन् २०२० मा नेपालगञ्जमा पहिलो लुम्बिनी प्रदेश युवा सम्मेलन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =