झापा, बाँके, धनुषा र चितवनमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ । चितवन, भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोकमा ना.४ ख ५८१५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने बिक्रम पौडेलको छोरा १० वर्षीय आरूष पौडेलको सोमबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा गाउँपालिका–४ मंगलवारेस्थित सडकमा मे.३ प ५९२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय शम्भु कार्कीको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका–१८ स्थित सडकमा लु.२ ख २१४२ नम्बरको बसले युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भारत उत्तर प्रदेश घर भएका २० वर्षीय अनिल कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, मिथिला नगरपालिका–२ हजरा चोकस्थित सडकमा ज.४ प १९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित होटल संचालन गरी बस्ने ४० वर्षीय चन्दन पटेलको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।








