बालेनलाई सांसद सिंहले भने– काठमाडौँमा गरिब पनि बस्न पाउँछ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरूलाई त्रसित नगराउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चेतावनी दिएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताएका हुन् । उनले काठमाडौँले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरूलाई अपमान गरिएको बताए ।

उनले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरे । उनले काठमाडौँ संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताए ।

उनले भने – ‘महानगरको मेयरको दम्भ बढेको छ । किनभने श्रमिकहरू, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ? महानगर व्यवस्थित गर्न नपाउने, महानगरमा विकासको एउटा सिन्को भाँच्न नपाउने, तर कहिले फुटपाथको व्यापारीलाई त्रसित गर्ने, टाउको फुटाउने, कहिले कवाडीहरूलाई हटाउने । आज काठमाडौँको मान्छे फल खाइरहेको छ, तरकारी खाइरहेको छ, त्यो मधेसको मान्छेको कारणले हो । तर आज त्यही मधेसको मान्छे जो कवाडीको रूपमा छ, त्यो अपमानित भइरहेको छ । टाउको फुटिरहेको छ । उनीहरू कर तिरिरहेको छ । प्यानमा दर्ता छ । गैरकानूनी हो भने किन प्यान लिइरहेको छ । सरकार एकातिर कर पनि लिने अर्कोतिर अपमान गर्ने ? संघीय सरकारले यसमा हस्तक्षेप गरोस् । न कि संघीय सरकार, संघको गृहमन्त्री प्रहरी पठाएर महानगरसँग दोस्ती गरेर काम छैन । यो नेपाल हरेक नेपालीको हो । कुनै मेयर र प्रधानमन्त्रीको मात्रै होइन । कवाडीहरूलाई रेगुलेट गर्ने काम गरियोस् । मेयरले बनाएको काठमाडौँ होइन । यो काठमाडौँ संघीय राजधानी हो । यहाँ एउटा गरिब पनि बस्न पाउँछ । एउटा चेपाङ, मुसहर र र दलित पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि बस्न पाउँछ । यो प्रधानमन्त्री, मन्त्री, मेयर बस्नका लागि मात्रै काठमाडौँ बनेको होइन । काठमाडौँको मेयर यस्ता हर्कतबाट बजाओस् । नत्र काठमाडौँ कुनदिन संघर्षको मैदान हुन्छ । न संघ सरकारको नियन्त्रणमा हुन्छ । न मेयरको त कुनै औकातमै छैन ।’

उनले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौँ कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =