विचाराधिन मुद्दाका कारण द्रुतमार्गको काम अपेक्षाअनुसार अघि बढेन : उपप्रधानमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अदालतमा विचाराधिन मुद्दाका कारण नेपाली सेनाले जिम्मा लिएको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माण कार्यले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले शुन्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जग्गा प्राप्ती, प्रस्थान बिन्दुको विवादलगायतका विषयमा अदालतमा कतिपय मुद्दा विचाराधिन अवस्थामा रहेकाले सो द्रुतमार्गको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको प्रष्टयाएका हुन् । उपप्रधानमन्त्री खड्काले थप गरिएको समय २०८३ साल चैत्र मसान्तभित्र सो द्रुतमार्गको काम सम्पन्न हुने आश्वासन समेत दिए ।
सो द्रुतमार्ग निर्माणको क्रममा देखिएका समस्या समाधानका लागि सरकारले विभिन्न समितिहरू बनाएको र त्यसले ती समस्याहरूलाई समाधान गर्दै आएकाले थप गरिएको समयमा निर्माण कार्यले पूर्णता पाउने तर्क उनले गरे । उपप्रधानमन्त्री खड्काले हालसम्म सो द्रुतमार्गको काम ३० दशमलव ९६ प्रतिशत सम्पन्न भइसकेको पनि समितिलाई जानकारी गराए ।
उनले भने, ‘जग्गा प्राप्ती, वातावरणीय प्रभाव मूल्यांकनलगायतका विषयमा लामो समय लाग्ने, प्रस्थान बिन्दुको विवादलगायतका विषयमा अदालतमा मुद्दा पर्ने र त्यस्ता मुद्दा विचाराधिन रहेको अवस्थामा खरिद व्यवस्थापनको कार्य अगाडि बढाउन नसकिने जस्ता कारणले अपेक्षित प्रगति भने हासिल हुन सकेको छैन । आयोजना कार्यान्वयनको क्रममा देखिएका समस्या समाधान गर्न समितिहरू गठन भई समस्या निदानका लागि कार्य भइरहेको कुरा म माननीय सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु । यसैक्रममा कतिपय समस्याहरू समाधान भइसकेका छन् भने केही समस्याहरू निराकरण हुने चरणमा रहेको जानकारी गराउन चाहन्छु । यी विविध समस्याले गर्दा सोचेअनुरूप लक्ष्य हासिल गर्न नसकिएको भएतापनि हालसम्म अधिकांश प्याकेजहरू खरिद प्रक्रिया र निर्माणको प्रक्रियामा प्रवेश गरिसकेको साथै प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरू सम्पादन गरी द्रुतमार्ग निर्माणको भौतिक प्रगति ३० दशमलव ९६ प्रतिशत हासिल भइसकेकोले २०८३ चैत्र मसान्त भित्रै निर्माण सम्पन्न हुने कुरामा म सम्माननीय अध्यक्षज्युमार्फत माननीय सदस्यहरुलार्य आश्वस्त पार्न चाहन्छु ।’
नेपाली सेनाले जिम्मा लिएको सो द्रुतमार्गको काम २०८१ मंसिरभित्र सम्पन्न गरिसक्ने सम्झौता गरिएको थियो । तर त्यस अवधिमा नसकिने भएपनि २०८३ साल चैत्र मसान्तसम्मको समय थप गरिएको छ । उपप्रधानमन्त्री खड्काले थप गरिएको पछिल्लो समय भित्र सो द्रुतमार्गको निर्माण कार्य सम्पन्न हुने आश्वासन दिए ।








