राष्ट्रिय सभाप्रति सकारात्मक हुन शीर्ष नेताहरूलाई कांग्रेस सांसद देवको आग्रह

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रिय सभाप्रति सकारात्मक हुन प्रमुख दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।
यही फागुन २० गतेबाट आफ्नो कार्यकाल पूरा गरी बिदाइ हुन लागेका सांसद देवले शुक्रवार राष्ट्रिय सभा बैठकमा आफ्ना अनुभव र अनुभूति प्रस्तुत गर्दै प्रतिनिधि सभाका केही सांसदहरूले पार्टी नेतृत्वलाई कब्जामा लिएर राष्ट्रिय सभालाई कमजोर बनाउने काम गरेको जिकिर समेत गरे ।
सांसद देवले काँग्रेस भित्र दलको नेता छान्ने अधिकार समेत राष्ट्रिय सभा सदस्यहरूलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे । दलको सदस्य हुने, दलको नेता छान्न नपाउने ? कहीँ पनि नहुने उनको भनाई थियो ।
सांसद देवले भने, ‘मेरो यो ६ वर्षको निचोड के हो भने राजनीतिक र व्यवहारिक दुवै रूपमा मेरो निचोड के हो भने सबभन्दा पहिला यो देशका म आदरणीय केन्द्रीय नेताहरूलाई र ठुला दलको सम्मानित नेताहरूलाई म आग्रह गर्न चाहन्छु–राष्ट्रिय सभालाई बलियो बनाउने काम गरौं । पहिलो कुरा मेरो यो हो । संविधान बनाउने बेला सभासदहरुले राष्ट्रिय सभालाई अधिकार सम्पन्न बनाउनु हुँदैन भनेका थिए । उनीहरूले नै प्रतिनिधि सभामा रजगज बनाएर बसे । राष्ट्रिय सभाले एकमतले पठाएको विधेयक पनि प्रतिनिधिमा नेतृत्वलाई कब्जामा लिएका मठाधिश भन्न रुचाउँछु म ती सांसदहरूले मनाएका छन् । र, नेतृत्वले पनि ती सांसदहरुलाई सबैभन्दा सशक्त सांसदका रूपमा लिएका छन् । राष्ट्रिय सभाले सर्वसम्मत रूपमा पठाएको एउटा पनि संशोधन प्रश्ताव स्वीकार गरेन प्रतिनिधि सभाले । त्यसले गर्दा यो राष्ट्रिय सभा कमजोर हुन पुग्यो । अहिले पनि म ओपन गर्न चाहन्छु, म आफ्नै पार्टीलाई पनि भन्न चाहन्छु–नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूले आफ्नो दलमा पार्टी संसदीय दलको नेता समेत छान्न पाएको छैन । त्यस्तो पनि कहीँ हुन्छ ? दलको सदस्य हुने, दलको नेता छान्न नपाउने ? त्यसकारण पार्टीका शीर्ष नेताहरूको दृष्टिकोण पनि राष्ट्रियसभाप्रति पोजेटिभ हुनुपर्यो । ’
सांसद देवले राष्ट्रिय सभाले एकमतले संशोधनका लागि पठाएका प्रश्ताव प्रतिनिधि सभाले अस्वीकार गरिदिएकोमा पनि आपत्ति जनाए ।








