भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्रीलाई भारतको उपयुक्त पात्र भनेकोमा सांसद पन्तको आपत्ति

काठमाडौँ । नेकपा(एमाले) का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रूपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा भारतीय सेनाको रिटायर मेजर जनरल अशोक मेहताले २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्र्याक इन नेपाल’ शीर्षकको लेख लेख्दै प्रधानमन्त्री दाहाललाई भारतको उपयुक्त पात्रको रूपमा चित्रित गरिएको बताए ।

उनले लेखमा दाहाल भारत चढ्नका लागि उपयुक्त पात्र भएको उल्लेख गरिएको र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भविष्यमा चढ्नका लागि उपयुक्त घोडा भनिएको भन्दै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने बताए । काँग्रेसले समेत सभापतिलाई त्यसो भनिदा चुइँक्क बोल्न नसकेको भन्दै काँग्रेस कुन कुनामा मुर्छा परेर बसेको छ ? भनि प्रश्न गरे ।

उनले भने– ‘त्यो लेखको अन्त्यमा के भनिएको छ भने, भारत अहिले नेपालमा राइट ट्र्याकमा छ । अहिलेको गठबन्धन ठिक छ । त्यसले चीनसँग भएको सम्झौतहरु रोकेर राखेको छ । भारतको लागि राम्रो गरेको छ भन्दै भन्दै लास्टमा के भन्छ भन्दाखेरी प्रचण्ड त्यस्तो पात्र हुन् । जो भारतलाई अहिले चढ्नका लागि उपयुक्त छन् । र तबेलामा राखिएका शेरबहादुर देउवा अर्को घोडा हुन् । जो भविष्यमा चढ्नका लागि उपयुक्त छ । अर्थ त्यही हो । यस्तो लेखिँदा पनि, तर नेपालमा भइरहेकारराष्ट्र मन्त्रालय त बोलेन बोलेन, नेपाली कांग्रेस पनि कुन कुनामा मुर्छा परेर बसेको छ चुइँक्क बोल्दैन । आफ्नो सभापतिलाई यति लेखिरहँदा पार्टीको तर्फबाट खण्डन गर्नुपर्दैन ? यसप्रति आपत्ति जनाउनु पर्दैन ? हिजो कुनै कालखण्डमा भारतसँग लड्न भनेर सुरुङ खन्ने माओवादी कमरेडहरू तपाईँहरूको पार्टीको अध्यक्ष भइरहेका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर एउटा इन्डियनले लेख्दा चुइक्क बोल्न सक्नुहुन्न ? कुन सुरुङमा लुकेर बस्नुभएको छ ? तपाईँहरूको स्वाभिमान कहाँ गयो ? तपाईँहरूको शरीरमा नेपालीको तातो स्वाभिमानी रगत बगेको छ कि ? पानी बगेको छ ? दिनुस् जवाफ ।’

उनले माओवादी केन्द्रले विगतमा भारतसँग सुरुङ युद्ध लड्ने समेत घोषणा गरेको भन्दै आफ्नो अध्यक्ष तथा प्रधानमन्त्रीलाई यसो भनिरहँदा कुन सुरुङमा लुकेर बसेको भनेर प्रश्न समेत गरे । उनले माओवादीहरूको स्वाभिमान कहाँ गयो भनेर पनि प्रश्न गरे । सांसद पन्तले माओवादीहरूको शरीरमा तातो स्वाभिमानी रगत बगेको छ कि पानी बगेको छ भन्ने प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *