हिउँद अवधि लम्बियो (तीन दिनको मौसम पूर्वानुमान)

काठमाडौं । यो वर्षको हिउँद अवधि लम्बिने भएको छ । मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँद अवधि मानिन्छ । यो अवधिलाई मात्रै हिउँद मान्ने हो भने आजबाट हिउँद अवधि सकिनेछ ।

तर, भोलिबाट पुनः पश्चिमी वायु सक्रिय हुँदै छ । र यो वायुमा हिउँद यामकै विशेषता (क्यारेक्टर) भएका कारण यो वर्षको हिउँद अवधि लम्बिने मौसमविद्को भनाई छ । मनसुन प्रवेश गर्ने र बाहिरिने अवधि अगाडि वा पछाडि सर्ने जस्तै हिउँदे अवधि पनि पछि सर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

भोलिबाट पुनः सक्रिय हुने प्रणालीले पश्चिमी भू-भागमा तुलनात्मक रूपमा धेरै र मध्य तथा पूर्वी क्षेत्रमा कम वर्षा गराउनेछ । छिटपुट हुँदै सुरु हुने वर्षा आइतबारसम्म जारी रहने मौसमविद् अधिकारी बताउँछन् ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहने विभागले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

शुक्र र शनिबारको पूर्वानुमान

२०८० फागुन १८ गते  (शुक्रबार)
दिउँसो: सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम  र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ सुदूरपश्चिम रकर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०८० फागुन १९ गते  (शनिबार)
दिउँसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली, बाँकी पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम बर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बागमती प्रदेशको तराई र कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले  आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *