राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि बैंक डुब्दैनन्, निक्षेपकर्ताले आत्तिनु पर्दैन: पौडेल

काठमाडौँ । पछिल्ला केही दिनयता एनआइसी एसिया बैंक धराशायी हुन लागेको गलत हल्ला नेपालको बैङ्किङ क्षेत्रमा फैलियो । उक्त हल्लाकै कारण यति बेला बैंकका निक्षेपकर्ता अत्तालिएको देखिएको छ । सामाजिक सञ्जालमा तथ्यभन्दा धेरै पर रहेर उक्त बैंकका विषयमा विभिन्न टिप्पणी भइरहेका छन् । यसै विषयमा मकालु खबरले बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलसँग उक्त बैंकको अवस्था र बजारमा चलेका तथ्यहीन हल्लाबारे जिज्ञासा राखेको थियो । प्रस्तुत छ, सोही जिज्ञासाको जवाफमा अध्यक्ष पौडेलले व्यक्त गरेको विचारको सार संक्षेप :

कोही एक जना व्यक्तिको तथ्यहीन भनाइलाई विश्वास गर्नु बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीका लागि सुहाउने विषय होइन ।  कुनै  जना व्यक्तिको भनाइमा लागेर देशका संस्थाहरू तथा नियामक निकायलाई नै विश्वास नगर्ने प्रवृत्ति ठिक होइन । कसैले फैलाएको नचाहिने हल्लामा लागेर बैंकलाई विश्वास नगर्ने भन्ने कुरा विश्वमा कहीँ पनि हुँदैन ।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कडा तथा सूक्ष्म निगरानीमा राखेर सञ्चालन गराइरहेको छ । कयौँ निर्देशन तथा सर्कुलरमार्फत बैंकलाई नियमन गरिरहेको छ । बैंकले कुनै कैफियत नै गरेको रहेछ भने पनि राष्ट्र बैंकले कारबाही गरेर सही मार्गमा ल्याउँछ । बैंक डुब्छ कि डुब्दैन भन्ने कुरा त त्यसका तथ्यांकीय सूचकहरूले देखाउँछन् ।

एनआईसी एसिया बैंककै कुरा गर्ने हो भने उनीहरूको ‘एनपीए लेभल’ असाध्यै राम्रो छ । बैंकले तथ्य लुकायो भनेर हल्ला फिँजाउने काम पनि गरिएको छ । ‘लिक्विडिटी रेसियो’ जस्ता सूचकहरू हेर्दा बैंकको अवस्था राम्रो छ । तर गलत हल्ला चलाइ दिनेकै पछि लागेर बैंकको निक्षेप झिक्न खोज्नु ठिक होइन । हाम्रो देशमा यस्तो गलत प्रथा सुरु हुनु विडम्बनापूर्ण छ ।

बैंकमा ५ लाख रुपैयाँसम्म निक्षेप राखिएकाहरूको निक्षेप कर्जा सुरक्षण मार्फत सुरक्षित गरिएको छ । त्यो सीमासम्मका निक्षेपकर्ताको पैसा कुनै पनि अवस्थामा डुब्दैन । यसबाहेक उक्त बैंकको अर्बौैँ रुपैयाँको क्यापिटल फण्ड छ । केही सीप नलागेर र बैंक डुब्ने नै अवस्थामा पुग्यो भने पनि त्यो राष्ट्र बैंकले आफ्नो व्यवस्थापन टिम पठाएर सही ठाउँमा ल्याउने पनि गर्दै आएको छ । तर, राष्ट्र बैंकले एनआईसी बैंकको व्यवस्थापन नै हातमा लिनुपर्ने अवस्था आएको छैन ।

कसैले व्यक्तिगत रिसीबी राखेर वा कुनै समुदायप्रति असहिष्णु भएर दिएको अभिव्यक्तिको मार बैङ्किङ क्षेत्रलाई पार्नु जायज हुँदैन । कुनै समय थियो, बैंक वित्तीय संस्थाको विकास र विस्तार हुनुपर्छ भन्ने सरकारको नीति अनुसार पैसा भएका जुनसुकै समुदायका मानिसले यो क्षेत्रमा लगानी गरेका थिए । त्यसो हुँदा अहिले आएर कुनै समुदाय विशेषका बैंक सञ्चालकलाई समस्या पार्ने मनसाय राखेर गलत हल्ला फैलाउनु राम्रो होइन ।

छोराछोरी पढाउन, उद्यम–व्यवसाय गर्न, घर बनाउन, पूर्वाधार विकास गर्न, जग्गा किन्न, गाडी किन्नलगायत अनेक कामका लागि बैंकले ऋण दिएर आम मानिसलाई सहयोग गर्दै आएको छ । बैंकका यस्ता अनेक फाइदा र योगदानलाई भुलेर एउटा व्यक्ति झुटो अभिव्यक्तिको पछि लाग्यौँ भने हामी पनि भीडको एक हिस्सेदार मात्र बन्छौँ । त्यसले नतिजा राम्रो दिँदैन ।

वित्तीय क्षेत्रसँग अहिले देश पूर्ण रूपमा निर्भर छ । जिडिपीको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ । निजी क्षेत्रको ७० देखि ८० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाले गरेका छन् । सरकारी क्षेत्रकै कुरा गर्ने हो भने राजस्वले नधानेको खर्च निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाटै उठाएर गर्ने गरेको छ । त्यसो हुँदा कुनै देशको पूरा अर्थव्यवस्था नै बैंकले चलायमान बनाइरहेका छन् । त्यसो हुँदा यस्ता बैंक तथा वित्तीय संस्थामाथि नै आक्रमण गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हाने सरह हुन्छ ।

पूरै अर्थ व्यवस्था धानेका देशभित्रको बैंकहरु सबै धराशायी पार्ने गरी हामी अघि बढ्ने हो भने नेपालको बैङ्किङ सेवा कसले चलाउने भन्ने प्रश्न आउँछ । विदेशीलाई बैङ्किङ सेवा सञ्चालन गर्न दिन सकिँदैन । त्यसो गर्दा हामी झनै समस्यामा पर्छौं ।

कुनै बैंक धराशायी भएको अवस्थामा राष्ट्र बैंकले व्यवस्थापन टेक ओभर गरेर पनि जोगाएको विगतका कैयौँ उदाहरण हामीसँग छन् । त्यसमाथि एनआईसी एसियाको यो केसमा राष्ट्र बैंकले व्यवस्थापन टेक ओभर गर्नुपर्ने अवस्था नै आएको छैन । किनभने हामीले बैंकको रिपोर्ट हेरेका छौँ । बैंकको त्रैमासिक रिपोर्टले बैंकलाई सबल देखाएको छ ।

आफूले निक्षेप राखेको बैंकको विषयमा कुनै जिज्ञासा वा शंका छ भने बैंकमा गएर आधिकारिक रूपमा बुझ्न पनि सकिन्छ । कुनै एक व्यक्तिले व्यक्तिगत रिसीबी साँध्न बोलेको कुरालाई विश्वास गरेर बैंकलाई अविश्वास गर्नु भनेको कागले कान लग्यो भनेर कसैले सुनाउँदा आफ्नो कान नछामी कागको पछिपछि कुदेजस्तो हुन्छ ।

अहिलेसम्म कुनै पनि बैंक डुबेर निक्षेपकर्ताले पैसा गुमाउनु परेको छैन । विगत कहीँ वर्षअघि क्यापिटल मर्चेन्ट भन्ने बैंक डुब्दा पनि निक्षेपकर्ताले पैसा गुमाउनु परेको थिएन । धेरै समस्यामा परेको संस्थालाई मर्जरमा लगेर हुन्छ कि कुन उपाय गरेर हुन्छ, नियामक निकाय राष्ट्र बैंकले डुब्नबाट जोगाइदिएकै छ । यो त ठूलो पुँजी भएको बैंक हो । यसका लागि डराउनुपर्ने अवस्था छैन ।

हामीले यो सचेतना सबैतिर जागृत गर्नुपर्ने अवस्था छ । बैंक तथा वित्तीय संस्थाबारे यसरी अफवाह फैलाउने व्यक्तिलाई राज्य (प्रहरी–प्रशासन) ले समातेर कारबाही गर्नुपर्ने हो । त्यसो पनि गरिएको छैन । राज्य कमजोर भएको अवस्थामा यस्ता खराब प्रवृत्तिले मौलाउने अवसर पाएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *