पैदलयात्रा गरी आएका देशभरका मिटरब्याजी पीडितहरू काठमाडौँमा (तस्बिरहरू)

काठमाडौँ । देशभरका मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका छन् ।

उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन् ।

उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए ।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरूका माग छन् ।

यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । पीडितहरूको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए । उनले लघुवित्तीय संस्थाहरूले ऋणीसँग चर्को ब्याज असुलेको बताए ।

उनले भने ‘लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबार विहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन् । बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ ।’

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *