सुपारीको व्यापारबाट ‘सुपर’ बनेका चूडामणि
![सुपारीको व्यापारबाट ‘सुपर’ बनेका चूडामणि](https://www.makalukhabar.com/wp-content/uploads/2024/02/chudamadi-newpana-mk.jpg)
काठमाडौँ । कोशी प्रदेशको झापा जिल्ला सुपारी खेतीका लागि प्रख्यात छ । कम लगानीमा बढी आम्दानी हुने हुँदा झापाका किसान यसतर्फ आकर्षित भएका हुन् ।
झापामा धानभन्दा धेरै सुपारी खेती हुन्छ । एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । मनग्य आम्दानी हुने भएपछि अन्य खेतीपाती छाडेर सुपारी खेतीतर्फ भविष्य खोज्ने मध्येका एक हुन्, झापाका बुद्ध शान्ति गाउँपालिका चूडामणि न्यौपाने ।
न्यौपाने विगत १४ वर्षदेखि आफ्नो १७ कट्ठा जग्गामा सुपारी खेती गर्दै आएका छन् । उनी सुपारीको खेती मात्रै होइन, यसको व्यापार पनि गर्छन् । राम्रो आम्दानी हुने भएपछि न्यौपाने आफ्नो परम्परागत पेशा छाडेर सुपारी खेतीमा लागेको बताउँछन् ।
उनी अन्य खेतीमा हात्ती लगायतका जनावरले क्षति गर्ने भएकाले सुपारी खेती रोजेको बताउँछन् । ‘अरू खेती गर्दा हात्तीको प्रकोप बढ्ने र खेती विनाश गर्ने भएकोले सुपारीको व्यवसाय गर्दै आएको छु’ उनले भने ‘आफ्नो जग्गाको करिब १७ कट्ठा जग्गामा सुपारी लगाएको छु ।’
उनले सुपारी खेतीबाट आफैलाई मात्रै होइन, गाउँका अरूलाई समेत रोजगारी दिएका छन् । सुपारीको सिजन पुस महिनाबाट जेठसम्म हुन्छ । यो सिजनमा स्थानीय बासिन्दाले उनकै सुपारी खेतीबाट रोजगारी पाएका छन् ।
न्यौपानेले सुपारीकै लागि वार्षिक ८० देखि ९० लाखसम्म लगानी लगाउँछन् । वर्षमा खर्च कटाएर वार्षिक उनी १३ लाख भन्दा बढी आम्दानी गर्छन् । ‘गत सिजनमा ९० लाख जति लगानी गरेको थिएँ, त्यसबाट १३ लाख बढी आम्दानी भयो’उनले भने ‘यसबाट राम्रो हुँदै गएको छ ।’
उनको सुपारी किन्न उर्लाबारी, काँकडभिट्टा, भारतको पानी ट्याङ्कीसम्मका व्यापारी आउने गर्दछन् । आफूले उत्पादन गरेको सुपारीमा धेरैको चासो रहेकाले यसप्रति आफ्नो लगाव बढेको उनी सुनाउँछन् । उनी भन्छन्–‘बाहिरबाट सुपारीको माग बढ्दै आएको हुनाले मलाई अझै सुपारी खेती गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ, मैले आफ्नै बारीमा सुपारी नर्सरी पनि गरिरहेको छु ।’
कसरी हुन्छ सुपारीको व्यापार ?
न्यौपाने आफैले उत्पादन गरेको सुपारी मात्रै नभई बगानबाट समेत काँचो सुपारी किनेर ल्याउँछन् र त्यसलाई उसिन्छन् । उसिने र सुकाको सुपारीलाई लाली सुपारी भनिन्छ । यस्तै बोटमा पाकेर रातो दाना भएपछि त्यसलाई झारिन्छ, त्यो सुपारीलाई फाली सुपारी भनिन्छ, फाली बनेको सुपारी नै बजारमा बेच्नका लागि तयार हुन्छ ।
उनी यसको व्यापार गर्दा अन्य ठुला व्यापारीसँग पनि समन्वय गर्ने गर्दछन् । ठुला व्यापारीहरूको सहयोगमा लाली सुपारीको बिक्री गर्ने उनको भनाई छ । ‘सुपारीको नेपालमा खासै त्यति बजार छैन,सरकारले सुपारीलाई अन्य देशहरूमा लैजानका लागि व्यवस्था गर्यो भने म जस्ता धेरै सुपारी व्यापारीहरूलाई सहज हुन्थ्यो ।’
उनी आफूले व्यवसायी सुपारी खेती गर्दा पनि कुनै पनि निकायले सहयोग नगरेको गुनासो गर्छन् । सरकारको सहयोग कुनैपनि उनले सुपारी खेतीमा राम्रो आम्दानी गरिरहेका छन् । उनले अन्य खेतीभन्दा सुपारी खेतीबाटै सन्तुष्टि मिलेको र गरेको कामबाट खुसी भएको उनी सुनाउँछन् ।
उनले भने ‘सरकारले आवश्यक औजारहरू, मल बिउ बिजनहरू उपलब्ध गराएको भए म जस्ता कैयौँ सुपारी खेती गर्ने किसानहरूलाई नेपालमै लगानी गर्न र उत्पादनमा टेवा पुर्याउन सहयोग मिल्थ्यो ।’
के हो सुपारी खेती ?
सुपारी नगदे बाली हो । बोटमा फल लाग्न थालेपछि खरिद गर्ने व्यापारी अग्रिम दाम बुझाउन आउने गर्छन् । बिरुवा लगाएको छ वर्षपछि आम्दानी दिने यसको खेती विस्तार र प्रवर्द्धन गर्न सरकारले पनि विभिन्न कार्यक्रम ल्याउने गरेको छ ।
सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरीच, कागती, निम्बू, बेसार, अदुवालगायतका विभिन्न प्रकारका घाँस, कोसे बाली र तरकारी खेती लगाउन सकिन्छ । एकै सिजनमा विभिन्न बाली लगाउने यो प्रचलनलाई तीन तले खेती पनि भन्ने गरिएको छ । सुपारीको दानाबाट मात्र होइन, पातबाट समेत आम्दानी हुने गरेको छ ।
90 लाख लगानीमा 13 लाख नाफा अर्थात १४ % ठिकै हो तर खटाई, अनेक तनाव र जोखिम सम्झदा बरू 90 लाख कुनै बैंकमा Fixed Deposit राख्दा बार्षिक १३ % का दरले 11,70,000/- बसिबसि आउदैन र ?
मेरो उदेश्य उद्यमशीलतालाई निरूत्साहित पार्नु हैन । अझ बढि नाफाका उपायहरू अपनाउदै ब्यावसायमा दाजुको जग दरिलो बनोस् शुभकामना ।