नेपालमा २०.२७ प्रतिशत मानिसहरू गरिबिको रेखामुनि : सरकारी तथ्यांक

काठमाडौँ । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबिको रेखामुनि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिबिको रेखामुनि रहेको उल्लेख गरिएको हो ।

करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए ।

उनकाअनुसार मानिसहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरू अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ । प्रदेशगत रुपमा भने सबै भन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि कार्यालयका प्रवक्ता रेग्मीले बताए ।

सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिब ३४ प्रतिशत मानिसहरु गरिबिको रेखामुनि रहेका छन् ।

कार्यालयका प्रवक्ता रेग्मीले भने ‘नेपालमा तय गरिएको गरिबिको नयाँ रेखा भनेको २०.२७ प्रतिशत हो । आजको मेरो प्रस्तुतिको सारांश यही हो । आज पनि नेपालमा करिब २० प्रतिशत भन्दा बढी मानिसहरु न्यूनतम मापदण्डअनुसार खान नपाउने, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने अथवा शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको मान्छेहरूको प्रतिशत अहिले पनि करिब २० प्रतिशत छ भनेर यो पछिल्लो सर्वेक्षणले देखाएको छ । प्रदेशगत रुपमा फेरी गरिबिको रेखा त्यहाँ भित्र पनि विभेद छ भन्ने देखिन्छ । सबैभन्दा कम गरिबी गण्डकी प्रदेशमा देखिएको छ । बागमती सँगसँगै छ । त्यसपछि कोशी प्रदेशमा छ । सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा देखिएको छ । यो सात वटा प्रदेशको हामीले तुलना ग¥यौं भने लुम्बिनी र कर्णाली पनि पछाडि पछाडि छन् । मधेस र लुम्बिनीको उस्तैउस्तै छ । कर्णालीमा सुधार भएको देखिएको छ पछिल्लो प्रतिवेदनअनुसार । सुदूरपश्चिममा अहिले पनि करिब ३४ प्रतिशत गरिबी छ ।’

सर्वेक्षणमा कर्णाली प्रदेशमा भने गरिबिको संख्यामा सुधार हुँदै गएको देखाइएको पनि राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *