त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रियामा सांसदहरूको असन्तुष्टि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रियाको विषयलाई लिएर सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया गलत भएको बताएका हुन् ।

उनीहरुले छनौट प्रक्रिया गलत भएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरूले उपकुलपति छनौटको प्रक्रियालाई खारेज गर्दै नयाँ प्रक्रिया आरम्भ गर्न माग समेत गरेका छन् ।

बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले विभिन्न आरोपका आरोपितहरूले आवेदन दिएको भन्दै उनीहरूको योग्यतामाथि प्रश्न उठाउनुपर्ने बताइन् । उनले आरोपितहरूको आवेदन स्वीकार गर्दा छनौट प्रक्रियामाथि प्रश्न उठेको बताइन् ।

उनले भनिन् ‘हामी मेरिटोक्रेसीको कुरा गर्छौं भने टियुको भिसी भनेको एकेडेमिक लिडरसिप हो । अनि एकेडेमिक लिडरशिपमा बसेकाहरूले जब आफूले अप्लाइ गर्दाखेरि सिफारिस समितिले एकेडेमिक लिडरसिपलाई चयन गरिरहँदा आज आरोपित मान्छेहरूलाई नै अप्लाइ गर्न ठाउँ दिन्छौँ भने नैतिकताको प्रश्न कहाँ रहन्छ भन्नेकुरा हो । प्रश्न उठ्छ भने त्यसलाई करेक्सन गर्नका लागि ठाउँ दिनुप¥यो । त्यस्तो संयन्त्र बनाउनु प¥यो । त्यो त छैन । आरोप लागेकाहरुले त्यहाँ गएर अप्लाइ गर्न पाउने कुरा जबसम्म रहन्छ, त्यो मेरिटोक्रेसी हुने कि नहुने ?’

त्यस्तै नेकपा(एमाले) की सांसद सरिता भुसालले उपकुलपति छनौटका लागि सक्षम व्यक्तिको खोजतलास नगरिएको बताइन् । उनले विदेश पलायन भइरहेका विद्यार्थीहरूलाई रोक्ने विचार भएका व्यक्ति उपकुलपति बन्नुपर्ने बताइन् ।

उनले भनिन् ‘जति जनाको निवेदन आएको छ के उहाँहरू मात्रै सक्षम हुनुहुन्छ जस्तो लाग्छ त ? यसमा अनुभवको आधारमा, कार्यदक्षताको आधारमा पनि त गर्न सक्नुहुन्थ्यो । सक्षम व्यक्तिको खोज तलास गरिएन । हजारौँ संख्यामा विद्यार्थीहरू बाहिरिएका छन्, बाहिर पलायन भएका विद्यार्थीहरूलाई कसरी रोक्ने भन्ने खालको विचार भएको व्यक्ति उपकुलपतिमा आउनुपर्थ्यो । त्यसमा कसरी हेरिराख्नुभएको छ ?’

नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सिफारिस समितिले गलत बाटो समातेको बताए
। उनले सिफारिस समिति उपकुलपतिको छनौटका लागि लोकसेवाको प्रक्रियाजस्तै गरी अगाडी बढिसकेको भन्दै कसैले पनि उस्तो, उस्तो गर्नुस् भनेर निर्देशन दिन नमिल्ने बताए ।

उनले भने ‘यो सिफारिस समिति अब कहाँ गइसक्यो भने अब ब्युरोक्रेसीतिर गइसक्यो । मापदण्ड बनाएको छ । मापदण्ड अनुसारको व्यक्तिको योग्यता छ कि छैन ? त्यसले कति नम्बर ल्याउँछ ? लगायतका कुरा शिलबन्दीको रुपमा गइसक्यो । लोकसेवाको सिस्टममा गइसक्यो मेरो विचारमा । १४ जना ल्याउने सन्दर्भमा उहाँहरुले कति फियर गर्नुभएको छ रु भन्ने कुरा हामीले सोध्ने कुरा मात्रै हो । तपाईँहरू यसो गर्नुस् भन्ने कुरा होइन । उसको योग्यताको मापन त मापदण्डले गरिसकेपछि हामीले कसरी भन्न सक्छौँ ? हामीले हस्तक्षेप गर्न सक्दैनौँ । सिफारिस समितिले गलत बाटो लिइसक्यो मेरो विचारमा । अधिकतम विवेक प्रयोग गर्ने बाटोबाट व्युरोक्रेटिक बाटो, जडताको बाटो, अंकगणितिय बाटोमा गइसकेपछि हामीले भन्न सक्दैनौँ तपाईँले यो कसरी गर्नुभयो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप गर्नु नहुने धारणा राखिन् । उनले अनुभव र ज्ञान भएको मान्छेलाई राज्यको उच्च पदमा राख्नुपर्ने बताइन् ।

उनले भनिन् ‘शिक्षा क्षेत्रमा विश्वविद्यालय, स्कुल, कलेज हरेक फिल्डमा राजनीतिक हस्तक्षेप छ । राजनीतिक दलहरूको हस्तक्षेप छ । त्यसै कारणले गर्दा आज हाम्रो देशको शिक्षा धरातलमा छ । मेरो प्रश्न यो छ कि कहिलेसम्म राजनीतिक दलहरूको विश्वविद्यालयमा हस्तक्षेप रहनेछ ? किन यस्तो भइरहेको छ ? किन राजनीतिकसँग सम्बन्धित व्यक्ति नै कुलपति वा प्रोफेसर हुनुपर्छ ? किन अनुभव र ज्ञान भएको मान्छेलाई उच्च पदमा राख्न सकिरहेका छैनौँ ?’

नेकपा ९एमाले० की सांसद ईश्वरी घर्तीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा हालका निमित्त उपकुलपतिलाई नै नियुक्त गर्नेगरी प्रपञ्च गरिएको बताइन् । उनले प्रधानमन्त्रीले नै यस विषयमा नाटक गरेको टिप्पणी गरिन् ।

उनले भनिन् ‘निमित्त भिसी जो हुनुहुन्छ उहाँलाई नै भिसी बनाउनेगरी यो सबै नाटक, प्रपञ्च गरिएको छ भन्नेकुरा प्रष्ट हुन्छ । यदि निमित्त भिसीलाई नै भिसी बनाउन यस्तो वातावरण बनाउनु थियो भने प्रधानमन्त्रीले मिडियामा मैले त अब त्रिभुवन विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउँछु । आवश्यक परे म कुलपति बाट राजीनामा दिन पनि तयार छु भनेर किन नाटक गरेको ? त्यो नाटक गरेकै जस्तो देखिन्छ ।’

उनले हालका निमित्त उपकुलपतिले आफ्नो क्षेत्राधिकार मिचेर विभिन्न पदमा नियुक्ति गरेको भन्दै ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *