क्यानडाविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिज नेपालले क्लिन स्वीप गरेको छ ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालका ओपनर अनिल साह र भीम सार्कीको शतकमा नेपालले ९ विकेटको जित दर्ता गर्‍यो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

आजको जितमा शतक प्रहार गरेका अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे । अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।

भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन् । यस्तै नेपालका लागि एकै इनिङ्ग्समा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो पटक हो ।

साथै दुईबीच नेपालका अहिलेसम्मकै उच्च साझेदारी समेत हुन सफल भयो । उनीहरुले नटआउट १८९ रनको साझेदारी भयो । यसअघि नेपालका लागि एकदिवसीय खेलमा उच्च साझेदारी १७१ रनको थियो । सो साझेदारी कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि गरेका थिए ।

ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भए । हेलिङगरको बलमा बोल्ड हुनअघि कुशलले १४ बलमा ३ चौका प्रहार गरेका थिए ।

त्यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो । नवनित धलिवलको अर्धशतकसँगै निखिल दत्त र कप्तान साद बिन जफरले क्यानडालाई सामान्य स्कोरसम्म पुर्याएका थिए ।

धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए । कप्तान सादले अन्त्यतिर १५ बलमा आक्रामक ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरेपछि क्यानडाले स्कोरमा सुधार गरेको थियो । नेपालका लागि डेब्यु गरेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए ।

ओपनर आरोन जोन्सन ४ रन जोड्दै डेब्यु गरेका हेमन्तको शिकार बनेका थिए । ठूलो सट खेल्ने धुनमा एज लाग्दै उनी थर्ड म्यानमा देवको हातबाट समातिए । दोस्रो विकेटका लागि ओपनर नवनित धलिवल र श्रीमन्थ विजयरत्नेले ४८ रनको साझेदारी गरे । विजयरत्ने २२ रन जोड्दै आकाश चन्दको शिकार बनेपछि क्यानडा ५५–२ मा पुगेको थियो ।

निकोलस किर्तन ३ रन जोड्दै कुशल मल्लको बलमा क्याच आउट भए । ओपनर नवनित धलिवल अर्धशतक पूरा गर्नेबितिक्कै क्याच आउट भएपछि क्यानडा १०१–४ को स्थितिमा पुग्यो । २७ औं ओभरमा आउट भएका उनले ८२ बलमा ५ चौकासहित ५० रन जोडे ।

हर्ष ठाकेर २९ रन जोड्दै कुशल मल्लकै एलबीडब्लु धरापमा परे । उनले ४८ बलमा १ छक्कसहित २८ रनको योगदान दिए । निखिल दत्त र हर्षले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै रनगति बढाएका थिए ।

विकेटकिपर श्रेयस मोभाले २९ बलमा १ चौकासहित २५ रन जोडे । उनी हेमन्तको बलमा क्याच आउट भए । निखिल दत्त ४५ रन जोड्दै रनआउट भए । ६२ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका उनी दोस्रो रन जोड्ने क्रममा रनआउट भएका थिए ।

डिलोन हेलिगर ४ रन जोड्दै हेमन्तकै बलमा क्याच आउट भए । हेमन्तले ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १–१ विकेट हात पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *