गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको स्रोत सुनिश्चित

हेटौँडा । रकम अभावका कारण रोकिएको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यले पूर्णता पाउने भएको छ । कलाकार सीताराम कट्टेलको धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरे पनि रकम अभावका कारण उक्त आयोजना लामो समयदेखि रोकिएको थियो । भरतपुर महानगरपालिका-१५ मा निर्माण भइरहेको रंगशाला १८ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि फाउन्डेसनले भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकिएको थियो ।

अहिले क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले झण्डै अर्ब लगानी गर्ने भएको छ । उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि करिब ५२ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

उक्त रंगशाला निर्माणका लागि प्रथम चरणमा ७५ करोड रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ । जसको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने भएको हो । बागमती प्रदेशले ७५ करोडको ७० प्रतिशत अर्थात् करिब ५२ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्ने निर्णय गरेको दुलालले बताउनुभयो । यसअघि संघीय सरकारले गत पुसमा बागमती सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो । अब उक्त रंगशाला संयुक्त लगानीमा बन्ने निश्चित भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि लिज ऐनअन्तर्गत जग्गा लिनुपर्ने भएपछि मन्त्रिपरिषद्को बैठकबाट सहमति दिइएको थियो । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउँदै छ । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड बराबरको काम गर्ने गरी सहमति गरेको थियो । पहिलो चरणमा खेलमैदान र प्यारापिट तयार गरेर खेल्न मिल्ने बनाइँदै छ ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्ने भएपछि बाँकी रकम अब संघीय सरकारको अनुदान लिने तयारी भएको छ । अपुग रकम भरतपुर महानगरपालिकाले थप गरी रंगशाला बनाउनेछ । प्रदेश सरकारको बजेट सुनिश्चितसँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने भएको छ । फाउन्डेसनले महानगरपालिकालाई रंगशाला हस्तान्तरण गर्दा ३५ प्रतिशत काम सम्पन्न भएको थियो ।

बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले सोमबार रंगशाला निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिनुभएको थियो । मन्त्री लामासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका-१५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटा रंगशाला निर्माणस्थल पुग्नुभएको थियो ।

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्नुभएको थियो । उहाँहरूले २०७५ माघ १६ देखि रंगशाला निर्माणको काम सुरु गर्नुभएको थियो । ३० हजार जना क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्नेछ । यहाँ प्यारापिटको पहिलो चरणको काम सकिएको छ । प्यारापिटका २८६ वटा पिलर उठाइएको छ । प्यारापिट तयार भएर भिआइपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान पनि भएको थियो । यहाँ आठवटा पिच बन्न बाँकी छन् । दोस्रो टावरको काम हुँदै गर्दा फाउन्डेसनले रंगशाला निर्माण रोकेको थियो । –हिमालय टाइम्सबाट

प्रतिक्रिया

One thought on “गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको स्रोत सुनिश्चित

Leave a Reply

Your email address will not be published. Required fields are marked *