कुकिङबाट तीनपुस्ते लगानीलाई सदुपयोग गरिरहेका रोशन

'मलाई हजुरबुबाले गाइड गर्नुहुन्थ्यो । पहिला हजुरबुबाले त्यसपछि बुबाले सिकाउनुभयो । त्यसरी नै मैले पकाउन सिके'

मानिसलाई बाच्नका लागि आवश्यक आधारभूत तत्त्वहरू मध्य एक ‘खाना’ हो । हामी सबैलाई मिठो खाना खान मन पर्छ । तर मिठो खाना बनाउने सिप (पाककला) सबैमा हुँदैन ।

अहिले सामाजिक सञ्जाल युट्युब, फेसबुक र टिकटकमा पनि खानासम्बन्धी बनाइएको थुप्रै भिडियो (मुकवाङ) हरूले लोकप्रिय कमाइरहेको छ । परिवर्तित समयसँगै खानालाई लिएर मानिसहरूको आकर्षण बढ्दै गएको देखिन्छ ।

एक समय थियो । खाना पकाउनु महिलाहरूको मात्र काम हो भन्ने गरिन्थ्यो । तर अहिले पाककलामा युवाहरूको आकर्षण बढ्दै गइरहेको देखिन्छ । धेरै युवाहरूले पाककलालाई आफ्नो पेसा बनाएका छन् ।

ती नै युवाहरू मध्य एक हुन् रोशन मलाकर । उनी दुवाकोट–भक्तपुरका स्थानीय । उनको परिवारमा कुकिङलाई निरन्तरता दिने उनी तेस्रो पुस्ता हुन् । विगत ४० वर्षदेखि उनका हजुरबुबा र हजुरआमाले सुरु गर्नुभएको कुकिङ कलालाई उनका बुबा–आमा हुँदै उनले पनि त्यसलाई निरन्तरता दिएका छन् ।

सुरुमा काभ्रे पनौतीमा रहेको उनीहरूको खाजा पसल, बसाई सरेसँगै दुवाकोट चाँगु नारायण हाइ स्कुल नजिक सर्‍यो । उनीका अभिभावकले आफ्नै घरमा नै एउटा सानो खाजा पसल खोले । उक्त खाजा पसलमा सेल, पकौडा, अण्डा, चना लगायतका थुप्रै खाजा पाइन्थ्यो ।

सुरुमा खाजा पसलबाट खास्सै नाफा भएन । तर बिस्तारै वरपरका मानिसहरूले चिन्दै गएपछि ग्राहकहरू बढ्न थाले । स्कुल नजिक भएकोलेपनि उनीहरूलाई ग्राहकहरूको कमी भएन ।

पुराना दिनलाई सम्झँदै रोशनले भने ‘बिस्तारै बिस्तारै नाफा हुन थालेको हो ।’

उनका बुबा–आमा दुवैले त्यहाँ काम गर्नुहुन्थ्यो । उनी ७ वर्षको हुँदा आमाले उनलाई पसलमा काम अह्राउनुहुन्थ्यो । उनले पनि सामानहरू ओसार–पसार गरेर बा–आमालाई सहयोग गर्थे ।

बिहान विद्यालय जानुअघि उनले पसलमा सेल, पकौडा, तरकारी पकाउथे । उनी आफूले पकाएको खानेकुरा बिक्री भएको देख्दा एकदमै खुसी हुन्थे । मलाकर भन्छन् ‘मेरो बाल्यकाल त सेल, पकौडा पकाउँदै बित्यो ।’

उनका हजुरबुबाले पनि ‘यसरी गर्यौ भने यस्तो हुन्छ, यसरी गर्यो भने यस्तो हुन्छ’ भन्दै उनलाई विभिन्न परिकारहरू बनाउन सिकाउनुहुन्थ्यो ।

यसरी उनले परिवारबाटै कुकिङकला सिके ।

उनी भन्छन् ‘मलाई हजुरबुबाले गाइड गर्नुहुन्थ्यो । पहिला हजुरबुबाले त्यसपछि बुबाले सिकाउनुभयो । त्यसरी नै मैले पकाउन सिके ।’

घरमा नै बिजनेस भइसकेपछि मलाकर स्वतः त्यस काममा घुलमिल हुनपुगे । तर त्यसबेलासम्म कुकिङ कलालाई नै आफ्नो करियर बनाउने सोच उनमा थिएन ।

कुकिङमा उनको शैदान्तिक यात्रा भने विद्यालय पश्चात् सुरु भयो । वि.सं २०७१ सालमा एसएलसी दिइसकेपछि उनी आइटी पढ्ने सोचेका थिए । त्यसका लागि भक्तपुरकै एसएस कलेजमा उनी भर्ना भए । फारम भर्दा उनले कम्प्युटर साइन्समा ‘टिक’ लगाए ।

कलेजको पहिलो दिन उनी नजानेरै होटलम्यानेजमेन्टको ओरेन्टेसन क्लासमा छिरे । करिब दुई–तिन पिरेड चलेको उक्त ओरेन्टेसन क्लासले उनको मानसिकतालाई परिवर्तन गरिदियो ।

त्यहाँ उनले साथीहरू पनि पाए । त्यसपछि उनले होटेल म्यानेजमेन्ट नै पढ्ने निश्चय गरे । अनि सुरु भयो उनको कुकिङ करियरको यात्रा ।

होटल म्यानेजमेन्ट पढेपछि उनले किताबमा पढेका कुराहरूलाई घरमै लागु गर्न थाले । पसलमा नयाँ खाजाका परिकारहरू थपिए ।

त्यसपछि वि.सं २०७५ मा हिमालयन जाभा रेस्टुरेन्टमा पहिलोपटक उनले पारिश्रमिक लिएर काम गरे ।

उनी भन्छन् ‘कुकिङ फिल्ड एकदमै वृहत् छ । आफ्नो सिनियरहरूले बाटो देखाउने त छ तर आफैले पनि बुझ्न खोज्नु पर्दो रहेछ ।’

उनले कुनैपनि काम सिक्नको लागि आफूभित्र इच्छाशक्ति हुनुपर्ने बताए ।

उनी होटल म्यानेजमेन्टमा राम्रो स्कोप भएको बताउँछन् । कुकिङ जानिसकेपछि जहाँ गएपनि सजिलै आफ्नो सिप बिकाउन सकिने उनको धारणा छ ।

उनी भन्छन् ‘राम्रो स्कोप छ । जहाँ पनि आफू बिकिन्छ । आफूले आफूलाई तिखार्दै लैजानुपर्यो । स्कोप चैँ राम्रो छ ।’

अहिले उनी काठमाडौँ विशालनगर स्थित जाल्पा कपि क्लबमा सिनियर कुकको रुपमा कार्यरत छन् । त्यहाँ उनकै माथहतमा अन्य ५ जनाले पनि कुकिङ सिकिरहेका छन् ।

उनले नेपाली खाना बाहेक अमेरिकन, इटालियन लगायतका खाना पनि बनाउन जानेकाछन् । उनले रेस्टुरेन्टहरूमा नेपाली खानाको माग पनि बढ्दै गएको बताए ।

उनी भन्छन् ‘कसैले कसैलाई बनाउदैन् । आफैले आफैलाई बनाउने हो । कुनै ठाउँमा सफल हुनु छ भने आफैले नै गर्नुपर्छ ।’

उनी कुनै कुरामा सफल हुनको लागि आफैले मेहनत गर्नुपर्ने बताउँछन् ।

घरमा खाना पकाउने काम महिलाको मात्र हो सोच गलत भएको उनी बताउँछन् । उनी सबैले कुकिङ गर्नुपर्छ भन्ने नरहेको तर सबैले जाने राखे राम्रो हुने उनको भनाई छ । उनी कुकिङ क्षेत्रमा रोजगारीका अवसरहरू धेरै भएको बताउँछन् ।

आजभोलि कुकिङ सिकेर बिदेसिने युवाहरूको संख्या पनि धेरै छ । उनले नेपालमा धेरै अवसर भएपनि देशको अवस्था हेर्दा विदेश जाने नै भएको बताउँछन् । उनले सिप सिक्नको लागि विदेश अझ राम्रो गन्तव्य हुनसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *