विचार

आर्थिक समृद्धिको आधार पर्यटन

काठमाडौँ । पर्यटन विश्वव्यापी रूपमा फैलदो छ । प्रायः सबैजसो राष्ट्रले पर्यटनलाई आफ्नो मुद्दा बनाएका छन् । यसको क्षेत्र साँघुरो घेराबाट बृहत् बनिने क्रममा छ ।

प्राकृतिक पर्यटकीय पूर्वाधारको कमी भएका राष्ट्रहरूले पनि मानवीय पूर्वाधारहरू निर्माण गरेर पर्यटकलाई आकर्षित गर्ने गरेको पाइन्छ । नेपाल पर्यटकीय गन्तव्यका रूपमा विश्वमा नै प्रख्यात छ । नेपालसँग प्राकृतिक, सामाजिक र सांस्कृतिक विविधता रहेको छ । नेपाललाई प्रकृतिले नै उपहारस्वरुप यी सबै चिजहरू हस्तान्तरण गरेकी छिन् । यसैलाई संरक्षण संवर्धन र हिफाजत गर्न सके मात्र पनि हामीले यसबाट यथोचित लाभ लिन सफल हुन्छौ ।

आर्थिक समृद्धिको आधार स्तम्भ के लाई बनाउन सकिन्छ रु भन्ने विषयमा पनि छलफल हुन जरुरी छ । विविधताले भरिपूर्ण हाम्रो राष्ट्रमा पर्यटन नै अब आर्थिक समृद्धिको आधार बन्न सक्छ । पर्यटन एउटा यस्तो क्षेत्र हो जहाँ हरेक पक्षलाई समेट्न सकिन्छ । ठुला–ठुला लगानीकर्ता हुन्, कम लगानी गर्न सक्ने वा लगानी गर्न नसक्ने, श्रम मात्र गर्न सक्ने जनता यी सबैलाई एउटै मालामा उन्न सक्ने शक्ति पर्यटनमा छ ।

केही समययता पर्यटनमा राजनैतिक नजर परिरहेको छ । अझ राज्य पक्षले पनि पर्यटनलाई मुद्दाको रूपमा लैजान सके देशको अर्थतन्त्र उच्चो हुनेछ । नेपालको ‘आर्थिक समृद्धि’ को नारामा आधार स्तम्भको रूपमा पर्यटनलाई मुद्दा बनाउन हामीले पहल गर्न पनि जरुरी छ । सुनिश्चित लगानी गर्न चाहने लगानीकर्तालाई पर्यटनमा लगानी गर्न सकिने सम्भाव्यताहरू देखाउन सके उनीहरू निश्चिन्त भएर लगानी गर्न सक्छन् ।

मुलुकको आर्थिक समृद्धिका लागि आधारस्तम्भ आवश्यकता पर्दछ । यसका लागि ‘पर्यटन’लाई मुद्दाको रूपमा उठाएर लैजान सके समाज समृद्ध बन्न सक्छ । देशको आर्थिक मेरुदण्डका रूपमा मुख्य तीन क्षेत्रलाई लिने गरिएको छ । विषप्रेषण, जलस्रोत र पर्यटन । नेपालका प्रायःजसो प्रत्येक घरबाट एक वा त्यो भन्दा बढी व्यक्ति विदेशिएको पाइन्छ । यसले स्वयम् परिवार र देशको आर्थिक मामिलामा प्रत्यक्ष फाइदा त पु¥याएको छ । तर, अप्रत्यक्ष रूपमा हाम्रो दक्ष र ऊर्जावान् जनशक्तिहरु विदेशिदा हाम्रो विकास निर्माणमा बाधा पुगिरहेको छ ।

युवाहरूमा जोस, जाँगर, क्षमता र यौवन हुन्जेल विदेशी भूमीमा पसिना बगाएर मेहेनत गरेर घरपरिवारमा अर्थ पठाउँछन् । अन्य जनशक्तिहरु मेहेनत गर्ने बानीको निरुत्साहित गरी स्वदेशमा बसेर आश्रित व्यवहारलाई बढावा दिनका साथै विकास निर्माणमा निष्क्रिय हुँदै जान्छन् । जलस्रोतमा ठुलो लगानीको आवश्यकता पर्दछ । सामान्य मानिसले जलस्रोतमा लगानी गर्न कठिन हुन्छ ।

अब देशले गति लिएको छ शान्ति–सुबिस्ता भएको खण्डमा ठुला लगानीकर्ताहरूले यसमा लगानी गर्न वातावरण बनिन्छ । यसले पनि सीमित क्षेत्रलाई मात्र असर गर्दछ । र, त्यही क्षेत्रमा मात्र केन्द्रित हुन्छ । पर्यटनमा साना–ठुला सबै प्रकारका लगानीकर्ताहरूलाई समेट्न सकिन्छ । यसका लागि सबै पक्षले हातेमालो गरी कार्यान्वयनतर्फ लाग्न सकेमात्र सफल हुन्छ ।

यसभन्दा पहिले पनि पर्यटनको अवयव नभएको भने होइन । तर, देशमा अस्थिर राजनीति परिवेश भएका कारण यस क्षेत्रलाई पनि प्रत्यक्ष असर गरेको अवस्था थियो । अब स्थायी कानुन बनेको छ । नेपालमा पहिले जस्तो वातावरण रहेन । शान्ति, सुरक्षा र सुव्यवस्था कायम भयो भन्ने सही सूचना प्रवाह गर्न सकेको खण्डमा देशमा भित्रिने पर्यटकहरूको पनि कमी हुँदैन ।

के लाई चाहिँ आर्थिक समृद्धिको आधार बनाउने भन्ने पनि राज्यले बुझाउन पहल गर्नुपर्छ । अहिले लगानी सम्मेलन वा स्टार्ट अप सम्मेलनलगायतका कार्यक्रमहरू प्रायः आयोजना भइरहेको हुन्छ । यसमा पनि पर्यटनलाई जोड दिन पहल गर्न सकिन्छ । जनता वा निजी क्षेत्रले पनि विश्वस्त भएर ह्वात्तै लगानी गर्न आकर्षित भने नहुन सक्छ । यसमा राज्यको भूमिका हुनुपर्दछ । यसभन्दा पहिलेको कानुनले आर्थिक समृद्धिलाई जोड नदिएको भने होइन । तर, अस्थिरताले गर्दा सोचेजस्तो सफलता हात पार्न सकिएको थिएन ।

अहिलेको जोड आर्थिक समृद्धिलाई मूल मुद्दा बनाएर लग्ने प्रतिबद्धता गरेको छ । यसबाट लगानीकर्ता वा व्यवसायीलाई सहज वातावरण निर्माण हुनेमा आशावादी बन्न सकिन्छ । यसका लागि भने निजी क्षेत्र, आन्दोलनकारी, वा राज्य पक्ष सबैले आफ्नो मनलाई बृहत् बनाउन भने जरुरी छ । ४ जना मात्र भएको परिवारमा त सबैको चित्त बुझाउन सकिन्न भने करोड जनसंख्यालाई समेटेर सामूहिक कानुन बनाउन चानचुने कुरो होइन । यसमा कतै न कतै, कसै न कसैलाई चित्त नबुझ्न सक्छ । यसका लागि भावी दिनमा सल्लाह, सुझाव र वार्ताबाट मुद्दालाई टुङ्गोमा पुर्‍याउन सके मात्र समृद्धिको नाराको इज्जत जोगाइ राख्न सक्छौँ ।

पर्यटन विकास मुलरुपले आर्थिक उद्देश्यले अभिप्रेरित भएर गरिन्छ । प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको कुशल सम्पादन एवं व्यवस्थापनबाट राज्यको आर्थिक जगत्सँग सम्बन्धित हरेक पक्षहरूमा प्रभावित गर्दछ भन्ने कुरा सबैले बुझ्न थालेका छन् । पर्यटनले देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, वातावरण जस्ता कुराहरूमा प्रभाव परिरहेको हुन्छ । तर, अन्य प्रभावको दाँजोमा आर्थिक प्रभाव भने निकै महत्त्वपूर्ण मानिन्छ ।

अहिले राज्यले पनि आर्थिक क्रियाकलापलाई जोड दिइरहेको अवस्थामा संघीय राज्यको आर्थिक प्रगतिको मार्ग पर्यटन बनाउन सकिन्छ । पर्यटन श्रममूलक उद्योग भएकोले यसको प्रत्यक्ष प्रभाव क्षेत्रीय र स्थानीय तहमा रोजगारी सृजनामा गर्दछ । यस उद्योगमा ठुलो संख्यामा विभिन्न किसिमका श्रम र सीमा भएका मानिसहरूको जरुरत पर्ने भएकाले माथिल्ला तहमा नीति निर्माण गर्ने देखि लिएर मध्यमस्तरका सीपयुक्त व्यक्ति, श्रम गर्ने मजदुरहरू सम्मले उचित रोजगार पाउन सक्दछन् ।

पर्यटन उद्योग एवं व्यवसायले स्थिरता पाउन थालेपछि पर्यटनको विस्तारका क्रममा क्षेत्रीय विकासले पनि प्राथमिकता पाउन थाल्दछ । कतिपय प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न तर आर्थिक दृष्टिकोणले पछौटेपनका रूपमा रहेका क्षेत्रहरूमा विकासका गतिविधिमा वृद्धि भई आर्थिक सम्वृद्धिका लक्षणहरू देखिन थाल्दछन् । राज्य र व्यवसायीहरूका तर्फबाट लगानी बढ्न जान्छ । पर्यटन उद्योगको विस्तार र विकासले अहिले विश्वमा बढ्दै गएको बेरोजगारीलाई कम गराउँदछन् ।

बढ्दो बेरोजगारीको समस्या हल गर्ने विकल्परहित माध्यम नै पर्यटन विकास र विस्तार भएको संकेत सम्बन्धित अर्थ विज्ञहरूको रहेको छ । यसैगरी विदेशिने जनशक्तिलाई पनि यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ । विश्वका कतिपय विकसित देशहरूमा बेरोजगारी समस्या अन्त्यका लागि पनि पर्यटनलाई अपनाउन थालेका छन् । उनीहरू पर्यटनका सम्भावित क्षेत्रका अतिरिक्त कृत्रिम रूपमा पनि पर्यटकीयस्थल रोजगारीका थप अवसरहरू बनेका छन् ।

अविकसित र विकासोन्मुख देशहरूमा त यस्ता सम्भावित अवसरहरूको कमी त्यति छैन । जसको समुचित विकासले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा वृद्धि ल्याउन सकिन्छ । यसरी पर्यटनको विकास र विस्तारले देशको समग्र विकासका लागि सघाउँछ भने देशका प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धनमा समेत उल्लेखनीय सफलताहरू प्राप्त हुन थाल्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *