नोवेलमा बिना अपरेसन पाठेघरमा रगतको नशा गुजुल्टो पर्ने समस्याको सफल उपचार

काठमाडौँ । मासिकश्राव गडबड हुने र अत्यधिक रक्तस्राव हुने समस्याले महिलाहरूलाई सताउने गर्दछ । महिलाहरूमा हुने यस्तो समस्याले उनीहरूलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ भने गर्भाधानमा समस्या हुने वा गर्भपतन हुने जस्ता समस्या पनि हुन सक्ने हुन्छ ।

यस्तै समस्याबाट ग्रसित एक जना २९ बर्सिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसूति तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोलोजी विभागको समन्वयमा विना चिरफार उपचार गरिएको छ ।

पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार गरिएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाले बताए ।

मझरियाका एक महिला विगत धेरै वर्ष देखि महिनावारी गडबड हुने, मासिकश्रावको समयमा अत्यधिक रगत बहने समस्याबाट ग्रसित थिइन् । उनको विवाह पछि दुई पटक गर्भ तुहिएको थियो । एक पटक त पाठेघरको नलीमा गर्भधारण भई अपरेसन गरेरै नली नै फालियो ।

त्यसपछि पनि मासिकश्रावको समस्या यथावत् थियो । एक स्थानीय नर्सिङ्ग होममा उपचार गराउँदै गर्दा भारत स्थित एम्स हस्पिटलमा उनलाई रिफर गरियो ।

भारत जान खर्च अभाव भएकाले एक पटक नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल गई जाँच गराउ भन्ने विचारले बिरामी र उनका अभिभावक नोवेल आएका थिए ।

चेक जाँचको क्रममा नोवेलका प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. शान्ति सुवेदीले अल्ट्रासाउन्ड गर्दा पाठेघरमा रगतको गुजुल्टो रहेको थाहा पाइन् ।

डा. सुवेदीका अनुसार बिरामीको अल्ट्रासाउन्ड गर्दा उनको पाठेघरमा पानीको पोखरीमा भुमरी आएको जस्तो देखिने रगतको गुजुल्टो रहेको थियो । जसलाई मेडिकल भाषामा ‘आर्टेरियोभेनस मालफरमेशन’ भनिन्छ । बिरामीलाई यसै कारणले बढी रगत बग्ने समस्या आएको थियो ।

यसको उपचारको लागि पाठेघर नै फाल्नु पथ्र्यो तर बिरामीले नर्सिङ्ग होममा नै गराएर आएको एमआरआईको रिपोर्टको र अल्ट्रासाउन्डको रिपोर्टको आधारमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.गणेश देवकोटाबाट इन्टरभेन्सनल रेडियोलोजी प्रविधिको सहायताले रगतको गुजुल्टोको उपचार गर्ने समन्वय भयो ।

डा. सुवेदीले भने । ‘खर्चको हिसाब गर्दा भारत गएर उपचार गर्दा जति खर्च हुन्छ त्यसको आधाको पनि आधा खर्चमा सफल उपचार भएको छौँ । त्यस पछिको स्क्यानहरूले पनि बिरामीको समस्याको राम्रो उपचार भएको देखाएको छ ।’

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाका अनुसार प्रसूति तथा स्त्री रोग विभागका प्रा. डा. शान्ति सुवेदीले बिरामीको बारेमा जानकारी दिएकी थिइन् । त्यसपछि थप जाँचहरू पश्चात् बिरामीको समस्याको उपचारको लागि यूटेराइन आर्टरी इम्बोलाइजेसन भन्ने प्रविधिबाट उपचार गर्ने तयारी गरियो ।

उक्त प्रविधि, त्यसको फाइदा र हुन सक्ने समस्याहरूको बारेमा बिरामी र उनको अभिभावकसँग छलफल पछि उनीहरु उपचारको लागि तयार भएको डा. देवकोटाले बताए । उनले उक्त प्रविधिबाट उपचार भएपछि बिरामीको पाठेघरबाट रगत बग्न रोकिएको बताए ।

बिरामीको समस्या र उपचारबारे जानकारी बिरामीका श्रीमानले भने ‘बिरामीको मासिकश्रावको समस्याको लागि नर्सिङ्ग होममा उपचार गराउँदा कि त भारत जानु कि त काठमाडौं जानु भनेका थिए तर एक जना मित्रले एक पटक नोवेलको आईभिएफमा पनि जाँच गराउनु भनेकाले नोवेलमा आएर जाँच गराएको र डा। शान्तिले नै उपचार सहज बनाई दिनु भएको छ । अहिले बिरामीलाई धेरै राम्रो भएको छ ।’

यूटेराइन आर्टरी इम्बोलाइजेसन प्रविधि भनेको के हो ?

डा.देवकोटाले भने ‘यो प्रविधिको उद्देश्य भनेको पाठेघरमा हुने रक्तप्रवाहलाई रोक्नु हो । यो गर्नलाई पेट चिरेर ठूलो अपरेसन गर्नु होइन । निडिल, मसिनो तार र पाइप जसलाई वायर, क्याथेटर र माइक्रोक्याथेटर भन्दछौँ त्यसको सहायताले रगतको नलीबाट छिरेर एन्जियोग्राफिको सहायताले पाठेघरमा जाने रगतको नशाहरू पहिचान गरी जुन रगतको नशालाई थुन्न पर्ने हो त्यसलाई विभिन्न पदार्थहरूको सहायताले थुन्ने गरिन्छ । हाम्रो बिरामीको पनि पाठेघरमा रक्तस्राव गराउने रगतको नशालाई जेलफम प्रयोग गरी दुवै तिरको नशालाई बन्द गरेको छौं ।’

कस्ता बिरामीलाई यो प्रविधिले फाइदा पुर्याउछ ?

डा. देवकोटाले भने ‘यो त्यस्ता बिरामीहरू जसको हिस्टेरोक्टोमी अर्थात् पाठेघर फ्याल्न नसकिने वा भविष्यमा बच्चा जन्माउन इच्छा भएका बिरामीहरू, साना उमेरका बिरामीहरूलाई फाइदाजनक हुन्छ । यसले अनावश्यक रक्तस्रावलाई रोक्ने कार्य गर्दछ र पाठेघरलाई सुरक्षित राख्न सकिन्छ । त्यस्तै फाइब्रोइड यूटेरस वा पाठेघरमा ऐजेरु पलाएका बिरामीहरूलाई पनि ऐजेरुलाई रगत प्रवाह गर्ने नलीलाई बन्द गरेर पाठेघर जोगाउन सकिन्छ भने कुनै कुनै महिलाहरूलाई प्रसूति पछि अत्यधिक रगत बहने समस्या हुने हुन्छ । त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट रक्तस्राव रोक्न सकिन्छ ।’

उनले विभिन्न कारणले पाठेघरमा रगतको नशा गुजुल्टो पर्ने समस्यामा पनि यो प्रविधि प्रभावकारी हुने बताए ।

‘शल्यक्रिया गर्नु परेन । रगतको नशाबाट सानो तार क्याथेटर छिराएर गरिने भएकोले अस्पताल बसाई पनि छोटो हुन्छ । निको हुने समय पनि छोटो हुन्छ र पाठेघरलाई जोगाउन सकिने भएकोले भविष्यमा बच्चा जन्माउन पनि सकिने हुन्छ ।’

उनले यस प्रविधिको प्रयोगले पाठेघरलाई जोगाउन सकिने भएकोले भविष्यमा बच्चा जन्माउन पनि सकिने बताए ।

इन्टरभेन्सनल रेडियोलोजीको सहायताले नशा सम्बन्धी धेरै उपचार गर्न सहज भएको र यो सुविधा नोवेल मेडिकल कलेजमा रहेको उनले बताए ।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालले पूर्वी नेपालमा नै सबै प्रकारका उपचार सेवा एकै छानामुनी उपलब्ध होस् र यहाँका बासिन्दाहरूलाई उपचारका लागि अन्यत्र जान नपरोस् भनी नोवेलले हर तरहको सेवाहरूको भौतिक पूर्वाधार तयार गरी सोही अनुसारको अत्याधुनिक उपकरणहरू र दक्ष चिकित्सा जनशक्तिको व्यवस्था गर्दै आएको जानकारी दिइन् ।

उनका अनुसार सोही अनुरूप नै निकट भविष्यमा क्यान्सरका बिरामीहरूलाई सुविधा सम्पन्न रेडियो थेरापी सेवा पनि सुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *