गाउँमा सिंहदरबार पुग्यो तर सडक पुगेन

मनाङ । गण्डकी प्रदेशको विकट जिल्लाका रूपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ ।

यहाँका स्थानीयलाई सदरमुकाम चामे पुग्न सडक सहज बनाउनु नै प्राथमिकता रहेको छ । सदरमुकाम पुग्नका लागि पैदलयात्रा गर्दा तीन दिन छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीय सोनाम तेञ्जिङ लामाले बताए । यहाँका स्थानीयको माग सडक सञ्जाल विस्तार गर्नु रहेको उनको भनाइ थियो ।

‘सङ्घीयता कायम भएपछि गाउँ गाउँमा सिंहदरबार पुग्यो । यहाँ भने सडकसम्म पुग्न सकेन । स्थलमार्गको पहुँच राम्रो नहुँदा सदरमुकाम पुग्न तीन दिन लाग्छ’, लामाले भने । सडक निर्माण अगाडि बढ्दा आशा पलाएको भन्दै उनले सडक बनेपछि स्थानीयले सास्ती भोग्नु नपर्ने बताए ।

स्थानीय कर्मा याञ्चु लामाले भन्छन्, ‘हामीलाई अस्पताल पुग्न पनि सास्ती हुने गरेको छ । बिरामी भए अस्पताल पुग्नै तीन दिन लाग्छ । यहाँको स्वास्थ्य चौकीमा औषधि भए पनि स्वास्थ्यकर्मी र डाक्टर कोही हुँदैनन् ।’ यहाँका स्थानीय अझै पनि जडीबुटीको भरमा उपचार गर्न बाध्य रहेका उनले बताए ।

स्वास्थ्य चौकीमा डाक्टर नआएपछि जटिल किसिमको बिरामी भएमा गाउँपालिकाको सहयोगमा काठमाडौँ जानुपर्ने अवस्था रहेको कर्माको भनाइ थियो । गाउँपालिकाको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँका अस्पताल पुग्ने गरिएको उनले जानकारी दिए ।

‘यहाँबाट छिटो पुग्ने बाटो बनेको छैन । अहिले बन्न लागेको भन्ने सुनेका छौँ । छिटो निर्माण सम्पन्न भए सबैलाई सहज हुने थियो’, कर्माले भने । यहाँका स्थानीय सडक नबने पनि पैदल हिँडेर विभिन्न कामका लागि चामे सदरमुकामसम्म पुग्ने गरेका छन् । स्थानीयले भोगेका समस्या समाधानमा अहिले जनप्रतिनिधिले प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

मनाङमा सडक सञ्जाल विस्तार भएको २० वर्षपछि जिल्लाको विकट क्षेत्र नार्पाभूमि सडक सञ्जालसँग जोडिन लागेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले बताए । उनका अनुसार प्रदेश सरकार र स्थानीय पालिकाबाट बजेट छुट्याइएपछि सडकको ट्र्याक खोल्न लागिएको हो ।

जनप्रतिनिधि तथा स्थानीयको पहलमा अहिले सडक सञ्जाल विस्तारको काम भइरहेको अध्यक्ष लामाले जानकारी दिए । चिसो र हिमपातका कारण जाडोमा काम रोकिएको भन्दै फागुनको अन्तिम सातादेखि कामले तीव्रता पाउने उनले बताए ।

अध्यक्ष लामाका अनुसार सडकको ट्र्याक खोल्नका लागि सहरी विकास मन्त्रालयबाट २५ लाख, गण्डकी प्रदेश सरकारबाट गतवर्ष ४० लाख र चालु आर्थिक वर्षमा गाउँपालिकाबाट ९० लाख विनियोजन भएको छ । ‘हिउँदे अधिवेशनपछि प्रदेश र सङ्घ सरकारबाट बजेटको व्यवस्थापन हुन सक्ने अपेक्षा गरेका छौँ’, उनले भने ।

मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोल्न लागिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । उनले पालिकालाई सडक सञ्जालसँग जोड्ने लक्ष्य पूरा गर्न मनाङका जनप्रतिनिधि र छिमेकी पालिकाको सहयोग रहेको बताए ।

‘पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्र्याक खोल्ने योजना बनाएको थियौँ । यसमा प्रदेश र सङ्घ सरकार समन्वय गरेपछि थप हौसला थपिएको छ’, अध्यक्ष लामाले भने, ‘हालसम्म २६ किलोमिटर सडक खनिसकिएको छ । माथिबाट पालिकाले कामदार खटाएर सडक खनिरहेको छ भने तलबाट एक्साभेटरको प्रयोग गरी अपरेटर र सहयोगी राखेर काम भइरहेको छ ।’

चामे गाउँपालिका–३ कोतोमा मर्स्याङ्दी नदीमा मोटरेवल पुल, नार्पाभूमि गाउँपालिकाको छ्याचेको नार खोलामाथि मोटरेवल पुल निर्माण गर्न अध्ययन प्रतिवेदन तयार भइरहेको अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सडक नौ मिटर चौडा हुनेछ ।

स्थानीय सरकारले सडक सञ्जालसँग गाउँलाई जोड्ने उद्देश्यले आव २०७५/७६ देखि चालु आवसम्म बजेट विनियोजन गर्दै आएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्रका रूपमा रहेको नार्पाभूमिमा हालसम्म सडक सञ्जाल पुगेको छैन ।

यस क्षेत्रमा सडक विस्तार गर्न मनाङेसहति जिल्लाका पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला सांसद तथा स्थानीय सरकारका जनप्रतिनिधि लागिपरेका छन् । ‘यहाँ ट्र्याक खोलेर मात्रै हुँदैन । भिरको बाटो छ, जोखिम उत्तिकै हुन्छ । जोखिम कम गर्न यहाँका नदीनालामा व्यवस्थित पुल निर्माण पनि उत्तिकै आवश्यक छ’, लामाले भने, ‘सडकसँगै पुल निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ । बजेट विनियोजन भए यसलाई सुरक्षित बनाउन सक्नेछौँ ।’

यस पालिकामा ट्र्याक खोलिएसँगै स्थानीयमा खुसी छाएको छ । जोखिम बाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय बताउँछन् । मर्स्याङ्दीलगायत सानाठूला नदीमाथि पुल निर्माण गर्न सकिए यात्रा अझै सुरक्षित हुने उनीहरूको भनाइ छ । यस पालिका सडक सञ्जालसँग जोडिएपछि जिल्लाका सबै पालिकामा सवारीसाधनमार्फत यात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *