यू १९ विश्वकप : बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

आईसीसी यु–१९ विश्वकपमा अहिले केही बेरमा हुने खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो। खेल पौने २ बजेबाट सुरु हुनेछ।
समूह डीको नेपाल र समूह ए को बंगलादेश ६ वर्ष पछि भिड्न लागेका हुन्। नेपाल अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुग्न सफल भएको हो।
तर नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने सकिएको छ। नेपाल र बंगलादेश रहेको समूहबाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना करिव निश्चित हुँदा बंगलादेशको भने झिनो सम्भावना छ।
आजको खेल जित्नै पर्ने दबाबमा बंगलादेश छ। तर नेपाललाई भने कुनै दवाव छैन । बरु, २२ वर्ष पनि बंगलादेशलाई पराजित गर्ने अवसर छ। नेपालको यू १९ टिमले सन् २००२ पछि बंगलादेशलाई पराजित गर्न सकेको छैन। सन् २०१६ मा भएको खेलमा बंगलादेश बिजयी भएको थियो।
बंगलादेश भने आफ्नो पछिल्लो नतिजालाई कायम राख्दै सेमिफाइनलको सम्भावनालाई कायम राख्न चाहन्छ। ८ वर्ष पहिले बंगलादेशमा नै भएको विश्वकपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।
त्यसअघि सन् २००२ को विश्वकपमा नेपालले बंगलादेशलाई २३ रनले पराजित गरेको थियो। यी दुई टोलि विश्वकपमा तेस्रो पटक भिड्न लागेका हुन्।








