विनोद भण्डारीको अर्को कीर्तिमानी शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको आर्मीका लागि भण्डारीले नटआउट १०० रन जोडेका हुन् । जारी प्रतियोगितामा उनको यो दोस्रो शतक हो भने समग्र प्रधानमन्त्री कपमा उनको तेस्रो शतक हो ।

यससँगै उनी प्रधानमन्त्री कपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

उनले आइतबार इनिङ्ग्सको अन्तिम बलमा दुई रन लिएर शतक प्रहार गरेका थिए । उनले शतक पूरा गर्ने क्रममा १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

जारी प्रधानमन्त्री कपमा यो नवौं शतक हो । विनोदले दुई शतक हिर्काउँदा मधेसका मयन यादव र अनिल शाह, सुदूरपश्चिमका नरेन भट्ट, बागमतीका आशुतोष घिरोइया, कोशीका सुजन थपलिया, नेपाल एपिएफका सन्दीप जोरा र नेपाल पुलिसका रशिद खानले यो संस्करणमा शतक प्रहार गरिसकेका छन् ।

आइतबार आर्मीका लागि विनोदसँगै बासिर अहमदले पनि उत्कृष्ट ब्याटिङ गरे । उनी भने २ रनले शतक बनाउन चुके । नटआउट ९८ रन बनाएका उनले ९२ बलमा १२ चौका र १ छक्का प्रहार गरे ।

विनोद र बासिरको उत्कृष्ट ब्याटिङमा आर्मीले कर्णालीविरुद्ध ५ विकेटको क्षतिमा २७९ रन जोड्यो ।

आर्मीका ओपनरद्वय इमरान शेख ५ रन र सन्तोष कार्की ११ रनमा आउट भए । यस्तै भीम सार्की २५ रन, विवेक यादव ६ रन र कुशल मल्ल २१ रनमा आउट भएपछि आर्मीलाई दबाब परेको थियो । तर विनोद र बासिरले नटआउट १६९ रनको साझेदारी गर्दै आर्मीका लागि बलियो योगफल बनाए ।

बलिङमा कर्णालीका दीपेन्द्र रावतले दुई विकेट लिन सफल भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =