यू–१९ विश्वकप

नेपालको सुपर–६ यात्रा र भारत–बंगलादेशसँगको परिक्षा(भिडिओ)

काठमाडौं । आइसिसी यू–१९ विश्वकप २०२४ मा नेपालले समूहको अन्तिम खेलमा अफगानिस्तानविरूद्ध १ विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो ।

अफगानिस्तानविरूद्धको जितसँगै नेपाल प्रतियोगिताको सुपर–६ मा पुग्यो । अब सुपर–६ मा नेपालले समूह–१ मा प्रतिस्पर्धा गर्नेछ ।

आइसिसीले यसपटकदेखि यू–१९ विश्वकपमा सुपर–६ को नियम ल्याएको हो । जसअनुसार चार समूहका शीर्ष तीन टिमले सुपर–६ मा स्थान बनाउनेछन्। नाम सुपर–६ भए पनि १२ टिमले दुई समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

सुपर–६ को समूह–१ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछन । पाकिस्तान, न्युजिल्यान्ड र नेपाल समूह ’डी’ बाट तथा भारत, बंगलादेश र आयरल्यान्ड समूह ’ए’ बाट सुपर–६ मा पुगेका हुन् ।

सुपर–६ को समूह–२ मा समूह ’बी’ र ’सी’ का शीर्ष तीन तीन टिमहरु अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे पुगेका छन् ।

अब सुपर–६ मा प्रत्येक टिमले दुई दुई मात्र खेल खेल्नेछन् । समूह चरणमा प्रतिस्पर्धा गरेका टिमसँग सुपर–६ मा प्रतिस्पर्धा हुनेछैन । जसअनुसार अब नेपालले सुपर–६ को समूह–१ मा रहेका पाकिस्तान र न्युजिल्यान्डसँग खेल्नेछैन। यस्तै अर्को समूहबाट आएका दुई टिमसँग मात्र खेल्न पाउने प्रावधानअनुसार नेपालले सुपर–६ मा भारत र बंगलादेशसँग खेल्ने लागेको हो । अरु टिमले पनि दुई दुई खेल मात्र खेल्नेछन् ।

आफूले पराजित गरेको टिम सुपर–६ मा पुगेको अवस्थामा स्वतः अंक जोडिनेछ । त्यसैले पाकिस्तानको सुपर–६ मा ४ अंक भइसकेको छ । किनभने समूहमा उसले हराएका न्युजिल्यान्ड र नेपाल सुपर–६ मा पुगेका छन् । नेपालको भने सुपर–६ मा अंक छैन । किनभने नेपालले समूहमा प्रतिस्पर्धा गरेका पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेको थियो ।

सुपर–६ मा सबै टिमले दुई दुई खेल खेलेपछि शीर्ष दुईमा पर्ने टिमहरु सेमिफाइनलमा पुग्नेछन् ।

सुपर–६ मा नेपालले पहिलो खेलमा बंगलादेशसँग बुधबार र दोस्रो खेलमा भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । सुपर–६ बाट नेपालको सेमिफाइनल पुग्ने सम्भवना निकै कठिन छ । किनभने नेपालले शीर्ष दुईमा पर्न भारत र बंगलादेश दुवै टिमलाई हराएर मात्र पुग्दैन अरु टिमको नजितामा भर पर्नुपर्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =