न्यूरोडमा ‘नो पार्किङ’: सर्वसाधारणलाई राहत, व्यापारीलाई आपत !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि काठमाडौँको न्यूरोड क्षेत्रको कालोपत्रे सडक किनारमा पार्किङ निषेध गर्ने निर्णय गर्‍यो । सहरी सौन्दर्य र पैदल यात्रुको सहजतालाई लक्षित गर्दै एकपछि अर्को योजना अघि बढाएको महानगरले न्युरोडमा नो पार्किङ भनेपछि त्यस क्षेत्रका व्यवसायीहरू भने विरोधमा उत्रिएका छन् ।

न्यूरोड क्षेत्रका व्यवसायीले व्यापारमा असर पर्ने भन्दै सटर नै बन्द गरेर महानगरको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

फुटपाथ मिचेर व्यापार गर्नेलाई तह लगाएको महानगरले न्युरोडका व्यवसायीलाई पनि झड्का दिएको छ । अस्तव्यस्त न्यूरोड क्षेत्रलाई व्यवस्थित गर्न महानगरले चालेको यो कदमको सर्वसाधारणबाट स्वागत हुँदा व्यापारीहरू भने महानगर र बालेनविरुद्ध आगो बनेका छन् ।

महानगरले न्युरोडमा सवारी–साधन पार्किङ निषेधमात्रै होइन, सरसफाइमासमेत जोड दिएको छ । तर विडम्बना न्यूरोडका व्यवसायीहरूलाई महानगरको यो कदम पटक्कै मन परेको छैन । उनीहरू सटर–पसल बन्द गरेर सडकमा उत्रिएका हुन् ।

व्यवसायीहरूले स्थानीय सामाजिक संघ संस्था, व्यावसायिक संघ संस्था र सरोकारवाला सम्मिलित सङ्घर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन् ।

महानगरले सरोकारवालाहरूसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल बताउँछन् ।

उनले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यावसायिक भविष्य संकटमा पर्ने दाबी गरे ।

उनले भने–‘काठमाडौं महानगरपालिकाले विकल्प नदिई जुन विगतको व्यवस्था खारेज गर्दा न्युरोड क्षेत्रका व्यवसायीहरू धरासायी हुने अवस्था छ । न्युरोड क्षेत्रमा पार्किङ हटाउँदा यो क्षेत्रका व्यवसायीहरू व्यवसायबाट पलायन हुने अवस्था आएको छ ।’

सर्वसाधारणलाई राहत

प्रमुख व्यापारी केन्द्र न्यूरोडमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा छ । सडकमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै सर्वसाधारणलाई आउजाउ गर्न समस्या भइरहेको छ । तर, महानगरले यस क्षेत्रमा पार्किङ निषेध गरेपछि सर्वसाधारण खुसी भएका छन् ।

महानगरले पार्किङ निषेधगरेपछिको अवस्थाबारे मकालुखबरले गरेको लाइभ भिडिओमा जनकबहादुर बोगटीले कमेन्ट गर्दै लेखेका छन्–‘अति सुन्दर काठमाडौं, सलाम छ बालेनलाई ।’

यस्तै अर्का फेसबुक प्रयोगकर्ता कुलमान बस्नेतले लेख्छन्–‘क्या दामी भएछ, अब हिँड्न सहज हुने भो ।’

न्यूरोडको अस्तव्यस्त पार्किङले सर्वसाधारणलाई राहत मिलेको छ । तर व्यापारीहरूको माग र उनीहरूलाई पार्किङको विकल्प पनि महानगरले दिनुपर्छ ।

विकल्प खोज्दै महानगर

यता, महानगरले न्यूरोडमा पार्किङको विकल्पका रूपमा बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई लिएको छ ।

महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए ।
प्रवक्ता अधिकारीले भने–‘बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन् । यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ ।’
धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

महानगरपालिकाले मङ्गलबारदेखि लागू हुने गरी धर्मपथ, जुद्ध सालिकबाट इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पतालवरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीले महानगरले व्यवसायीसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फी रूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका छन् ।

व्यवसायीले स्थानीय सामाजिक, व्यावसायिक सङ्घसंस्था र सरोकारवाला सम्मिलित सङ्घर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *