महानगरबिरुद्ध न्युरोडका व्यवसायीको आन्दोलन जारी (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् ।

महानगरपालिकाले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो ।

उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन शुरु गरेका छन् ।

महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए ।

उनले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यवसायिक भविष्य संकटमा पर्ने दाबी गरे ।

संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराएको आरोप लगाए ।

उनले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आउने बताए । उनले महानगरले एकोहोरो निर्णय लाद्ने काम गलत भएको बताए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनावश्यक रुपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम गरेको बताए ।

उनले विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने बताए । उनले मेयरले हात हाल्न नहुने क्षेत्रमा हात हालेको बताए ।

उनले महानगरले निःशुल्क पार्किङ सहितको व्यवस्थाको योजना बनाएर आउनुपर्ने बताए । उनले महानगरले विकल्प नदिए न्युरोडका व्यवसायीहरु चुप लागेर बस्न नसक्ने चेतावनी दिए ।

व्यवसायीहरुले संघर्ष समिति बनाएर अगाडि बढेकाले अझ आन्दोलनलाई सशक्त बनाउने योजना रहेको उनको भनाई छ ।

उनले भने–‘काठमाडौं महानगरपालिकाले विकल्प नदिई जुन विगतको व्यवस्था खारेज गर्दा न्युरोड क्षेत्रका व्यवसायीहरु धरासायी हुने अवस्था छ । न्युरोड क्षेत्रमा पार्किङ हटाउँदा यो क्षेत्रका व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आएको छ । महानगरपालिकाले व्यवसायिक संस्था,स्थानीय क्लव र स्थानीयवासीहरुसँग समन्वय गरेर पार्किङ बन्द गरेको भए उचित हुने थियो । महानगरले एकोहोरो निर्णय लाद्ने काम गलत गरेको छ । त्यसैको बिरुद्धमा व्यवसायीहरुको आन्दोलन हो । अनावश्यक रुपमा न्यरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम महानगरले गरेको छ । विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहन्छ । काठमाडौं महानगरपालिकाका मेयरले हात हाल्न नहुने क्षेत्रमा हात हाल्नुभयो । दरबारमार्ग थोरै व्यवसायीहरु भएको क्षेत्र थियो तर न्युरोड देशकै व्यापारको मुटु हो । व्यवसायीहरुका सबै संस्थाहरु आन्दोलन गरेको अवस्था छैन । महानगरपालिकाले निःशुल्क पार्किङ सहितको व्यवस्था योजना बनाएर आउनु र्छ । अन्य क्षेत्रको जस्तो न्युरोडका व्यवसायीहरु चुप लागेर बस्दैनन् । यहाँ सबै व्यवसायीहरु मिलेर आन्दोलनको आँधीबेरी ल्याउँछौं । व्यवसायीहरुले संघर्ष समिति बनाएर अगाडि बढेकाले भोलिदेखि अझ आन्दोलनलाई सशक्त बनाउँछौं ।’

आन्दोलनरत नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले पनि देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए ।

उनले व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको बताए ।

उनले महानगरले सवारी साधन आउने संख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताए ।

उनले भने– ‘काठमाडौं महानगरपालिकाले काठमाडौं क्षेत्रको व्यापारीक मुटु क्षेत्रमा पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । यसले व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको छ । महानगरपालिकाले व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । महानगरपालिकाले सवारी साधन आउने सख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा होस् भन्ने माग हो ।’

व्यवसायीहरुले सडक आन्दोेलनमा वैकल्पिक पार्किङको व्यवस्था गर्,महानगरको एकोहोरो निर्णय खारेज गर्, बालेन तेरो पाराले, दुःख पाए साराले,व्यापारीलाई गरिखान दे,महानगरको पाराले दुःख पाए साराले,एकल निर्णय खारेज गर,स्ट्याण्डबाजी बन्द गर्,व्यवसायीहरु एक हौं लगायतका नारा लगाएर महँनगरपालिकाको बिरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =