गृहमन्त्रीको निर्देशन–राष्ट्र र जनताप्रति इमानदार भएर काम गर्नु

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताएका छन् ।
मङ्गलवार सशस्त्र प्रहरी बलको २३ औं दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मानव अधिकारको उच्च सम्मान, लैङ्गिक हिंसामा शून्य सहनशीलता र जनमैत्री सुरक्षा निकाय अहिलेको अपरिहार्य मान्यताप्रति मन्त्रालय दृढ रहेको बताए ।
उनले गृह मन्त्रालय मातहतका सुरक्षा निकायको परिचालन, विशेषज्ञता, व्यावसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको बताए । उनले कार्यस्थलमा आफूलाई प्राप्त स्पष्ट जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमानदार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।
उनले भने ‘मानव अधिकारको उच्च सम्मान, लैङ्गिक हिंसामा शून्य सहनशीलता र जनमैत्री सुरक्षा निकाय अहिलेको अपरिहार्य मान्यताप्रति मन्त्रालय दृढ छ । यसका लागि राजनीतिक हस्तक्षेपबाट सुरक्षा निकायलाई मुक्त गराइ व्यावसायिक अभिवृद्धिका लागि हामी संवेदनशील छौँ । गृह मन्त्रालय मातहतका सुरक्षा निकायको परिचालन, यी निकायका विशेषज्ञता, व्यावसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको हुँदा कार्यस्थलमा आफूलाई प्राप्त स्पष्ट जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमानदार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कार्य गर्न सबैलाई निर्देशन गर्दछु ।’
उपप्रधानमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलमा रहेको कल्याणकारी कोषलाई बहालवाला एवं अवकाश प्राप्त सक्कल दर्जा, वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसमेतलाई लाभान्वित हुनेगरी थप नयाँ कार्ययोजनाका साथ अघि बढाउन निर्देशन दिए ।








