वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्दैछौँ : सचिव गुरागाईं

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ ।

सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएका हुन् ।

उनले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताए । उनले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताए ।

उनले २२१ करारका कर्मचारीहरू कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताए । उनले अहिले दसैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको बताए ।

उनले भने ‘वीर अस्पतालको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ । त्यो होइन । हामीले ८३१ दरबन्दी मध्ये ५ सय जना नर्सिङको दरबन्दी थियो । त्यसमा हामीले ३ सयको लोकसेवाबाट सिफारिस गरेर उहाँहरू दसैँअघिदेखि काम गर्दै हुनुहुन्छ । २३४ को विज्ञापन गइसक्यो । पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ । २ सय बढी वीरबाट निकालियो भन्ने छ, त्यो अघिल्लो वर्ष नै निकाल्नुपर्ने थियो, लोकसेवाबाट प्रोसेस आइनसकेकोले उहाँहरूलाई काममा राखेका थियौँ । उहाँहरूलाई जुन रुपमा मिडियामा जानुभएको छ, त्यो होइन । उहाँहरूलाई कोभिड १९ केसको लागि राखेको थियो । स्थायी दरबन्दी ल्याउन नसकेकाले राखेका थियौँ । राज्यको श्रोतअनुसार गर्नुपर्ने भएकाले बाध्य भएर निकाल्नुपरेको हो । अहिले त्यसको रिप्लेस भइसकेको छ र २३४ प्लस अरु रिक्त गरेर २६१ विज्ञापन गइसक्यो, लोकसेवाको सेड्युलबाट सायद आजभोलि विज्ञापनमा आउँछ ।’

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोषिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरू एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गरिन् । उनले करारकै कर्मचारी निकालेर पुनः करारकै कर्मचारी किन राखियो ? भन्दै प्रश्न गरिन् । ।

उनले भनिन् ‘करारका कर्मचारीहरूलाई त्यसमै स्थायी दरबन्दी सिर्जना गरौँ भन्ने विषय राखेका थियौँ र केही महिनाअघि मात्रै वीर अस्पतालका २२१ जना करारका कर्मचारी हटाइयो । स्थायी दरबन्दी थपिन्छ की भन्ने जस्तो लागेको थियो, फेरि करारकै कर्मचारी लिइयो । उहाँहरूलाई हटाउनुपछिको कारण के थियो । उहाँहरू कारबाही परेर हो वा के कारण थियो ? फेरि करारकै कर्मचारी किन राखियो ?’

सांसद कार्कीले करारका कर्मचारीहरूलाई नै स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *